२० बैशाख २०८१, बिहीबार

 

धूवाँखोलामा घरवास तालिम सम्पन्न

धूवाँखोला होमस्टेमा आयोजित घरवास तालिम आइतबार सम्पन्न भएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङमा रहेको होमस्टेमा ६ दिने तालिम गरिएको हो ।

समापन अवसरमा कालीगण्डकी गाउँपालिका अध्यक्ष वेद थापामगरले धूवाँखोला गाउँपालिकाकै एक मात्र होमस्टे रहेकाले यसलाई अझ व्यवस्थित गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउने र आर्थिक क्षेत्रमा बलियो बनाउने उल्लेख गरे । आफू यस ठाउँको विकासमा लागिपरेको भन्दै उनले स्थानीयको आवश्यकता र माग पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । गाउँपालिका र नेपाल पर्यटन बोर्डको संयोजनमा उक्त तालिम भएको हो ।

प्रशिक्षक तथा पर्यटनविद् जगतशेखर ढकालले होमस्टे रहेको स्थान अत्यन्तै रमणीय र स्थानीय बासिन्दा सक्रिय, अनुशासित, मिजासिला रहेको जनाउँदै यहाँ पर्यटक भित्र्याउन सक्दो सहयोग गर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष तारा थापा, प्रशासकीय अधिकृत बाबुराम पल्लीको समेत उपस्थिति रहेको कार्यक्रममा स्थानीय लोपोन्मुख स्यामुना गीत र नृत्य साथै होमस्टे सांस्कृतिक परिवारद्वारा गुरुङ समुदायमा प्रचलित सोरठी, मारुनी, कौडा, सालैजो, नृत्य प्रस्तुत गरिएको थियो ।

तालिममा उपस्थित स्थानीयलाई कालीगण्डकी गापा र नेपाल पर्यटन बोर्डको संयोजनमा प्रमाणपत्र वितरण गरिएको थियो । प्रशिक्षकलाई कालीगण्डकी गाउँपालिकाबाट प्रशंसापत्र दिइएको थियो । आगामी वर्ष करिब २ हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको आयोजकले संस्थाले जनाएको छ ।

कालीगण्डकी गाउँपालिका–७ का वडा सदस्य गमबहादुर गुरुङको अध्यक्षता, होमस्टे सञ्चालक सचिव आशिष गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा ७ नम्बर वडाध्यक्ष लोकप्रताप शाह, वडा सदस्य मीना गौतम, भूपू गाविस अध्यक्ष तथा नेका जिल्ला सदस्य गोपाल श्रेष्ठ, प्रशिक्षक रामहरि श्रेष्ठसमेतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम होमस्टे सञ्चालक राजेन्द्र गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्