६ जेष्ठ २०८१, आईतवार

 

लोकसेवाको विज्ञापन खारेजी माग्दै मगर विद्यार्थीको ज्ञापन

ज्ञापनपत्र बुझाउँदै नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सचिव मनीष थापामगर

नेपाल मगर विद्यार्थी संघले लोकसेवा आयोगलाई समावेशी बनाउन माग गर्दै आयोग र सामान्य प्रशासन मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । संघले बिहीबार लोकसेवाको बागलुङ कार्यालयमा एक घण्टा धर्ना बसी ज्ञापन बुझाएको हो ।

जनआन्दोलन २०६२/०६३ यता सरकारले पछि पारिएको वर्ग–समुदायका लागि आरक्षण कोटामा निजामती सेवामा प्रवेशको व्यवस्था मिलाए पनि अहिले आयोग त्यसविरुद्ध गएको भन्दै संघले विरोध जनाएको छ ।

आयोगले हालै स्थानीय तहमा ९ हजार १ सय ६१ कर्मचारी भर्नाका लागि गरेको विज्ञापनमा आदिवासी जनजाति, महिला, मधेसी, दलितलगायत आरक्षित समुदायको पदसंख्या न्यून गराइएको भन्दै आलोचना भइरहेको छ ।

ज्ञापनपत्र बुझाउँदै संघका केन्द्रीय सचिव मनीष थापामगरले लोकसेवाको विज्ञापन कुल पदसंख्या मध्ये ४५ प्रतिशत समावेशी समूहका लागि छुट्ट्याउनुपर्ने कानुनी व्यवस्थाविपरीत रहेको बताए ।

‘नेपालको संविधानले पूर्ण समावेशी र समानुपातिक व्यवस्था अंगीकार गरेको छ,’ उनले भने, ‘निजामती सेवा ऐन २०५९ को दफा ७ अनुसार ४५ प्रतिशत समावेशी समूहका लागि छुट्ट्याउनुपर्ने व्यवस्थालाई लत्याइएको छ ।’ मगर विद्यार्थी संघ र जनजातिसम्बद्ध संस्थाले विभिन्न चरणमा विरोध कार्यक्रम गर्दै आए पनि बेवास्ता गरिएकाले गम्भीर समस्या निम्तिन सक्ने उनले चेतावनी दिए ।

आयोगको विज्ञापनमा परेका दरखास्तअनुसार परीक्षा रोक्न नमिल्ने भनी सर्वोच्च अदालतले जेठ १६ गते गरेको आदेश संविधानविपरीत रहेको समेत संघले जनाएको छ । नागरिकको मौलिक हकअन्तर्गतको धारा ४२ ले गरेको सामाजिक न्यायको हकको व्यवस्थाअनुसार राज्यको हरेक निकायमा समानुपातिक, समावेशीकरण प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

अहिलेको विज्ञापन तत्काल खारेज गरी समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गरेर निजामति ऐनअनुसार सच्याई पुनः प्रकाशन गर्न संघको माग छ ।

संघ बागलुङका कार्यवाहक अध्यक्ष कोपिला श्रीस, पर्वतका अध्यक्ष सुजन पुन, म्याग्दीका अध्यक्ष विजय घर्ती र मुस्ताङ अध्यक्ष कृष्ण बुढाथोकीले हस्ताक्षर गरेको ज्ञापनपत्र आयोग बागलुङका प्रमुख गणेश पौडेलमार्फत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगको कार्यालयमा पठाइएको हो । ज्ञापनपत्र बुझ्दै पौडेलले यथाशक्य छिटो सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहोस्