२ कार्तिक २०८३, आईतवार

 

भोलिदेखि झरी घट्दै जाने

मनसुनी गतिविधि सोमबारबाट कमजोर भई वर्षा घट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल मनसुनी न्यूनचापीय रेखा तराई भूभागमा सक्रिय रहेकाले पूर्वी र पश्चिमी तराईका धेरैजसो स्थानमा वर्षा जारी रहेको र भोलिबाट यो प्रणाली दक्षिणतर्फ सरी क्रमशः कमजोर हुँदै जाने मौसमविद् बताउँछन् ।

आइतबार पनि देशभर सामान्य बदली रही धेरैजसो स्थानमा वर्षा हुने तथा पूर्व, मध्य र पश्चिम क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले औंल्याएको छ । सोमबार पनि मध्य क्षेत्रका केही स्थान तथा पूर्व र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ ।

आइतबार पूर्व र मध्य क्षेत्रका पहिरोको सम्भावना रहेका पहाडी भू–भागमा विशेष सतर्कता अपनाउन महाशाखाले सुझाएको छ । तराईमा पनि पानीको सामान्य बहाब रहिरहने भएकाले सतर्कता अपनाउन सुझाइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौँ उपत्यकामा १.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ३७.०, दिपायलमा १९.०, विराटनगरमा १२.०, नेपालगन्जमा ६४.०, जुम्लामा २.०, दाङमा, २०.० र सिमरामा ७०.० मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung