२० बैशाख २०८१, बिहीबार

 

घुम्टे जोड्न डाँडैडाँडा पदमार्ग

बागलुङको महत्वपूर्ण पर्यटकीय गन्तव्य घुम्टे जोड्न पदमार्ग निर्माण भएको छ । गलकोट नगरपालिका–७ मल्ममा डेढ किलोमिटर पदमार्ग बनाइएको हो ।

दरमखोलाको भीमसेन ढुंगादेखि आगाँखेत, सिरबारे, मल्मडाँडा भल्साङ राम्चेढुंगा, अजिराखर्क, तुलसी मैरा, सानो घुम्टे हुँदै घुम्टेसम्म उक्त पर्यटन पदमार्ग निर्माण गर्ने लक्ष्यअनुरूप पहिलो चरणको काम सकिएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड ‘क’ का अध्यक्ष रुद्र केसीले बताए । पर्यटनको सम्भावनै–सम्भावना रहेको घुम्टे लेकमा सहज आवागमनका लागि पदमार्ग निर्माणलाई तीव्रता दिइएको उनले जानकारी दिए । ‘हामीले क्रमशः सरकारसँग समन्वय गरी विकास–निर्माण गर्ने लक्ष्यअनुरूप काम अगाडि बढाइरहेका छौं,’ केसीले भने ।

गण्डकी सरकारको २० लाख रुपैयाँ बजेटमा पहिलो चरणको काम सम्पन्न गरिएको हो । ढुंगाको सिँढीसहितको पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्टे पुग्न सहज बनाउन योजना अगाडि बढाइएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड ‘ख’का अध्यक्ष रामबहादुर विश्वकर्माले जानकारी दिए । पञ्चवर्षे योजना निर्माण गरेर बाँकी काम तदारुकतासाथ अघि बढाइने उनले बताए ।

प्राकृतिक, जैविक अनि मनोरम घुम्टे पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसलाई विशेष प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारले पर्यटन पदमार्ग निर्माण अगाडि बढाएको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्णप्रसाद घिमिरेले जनाए । पर्यटकहरू बढी पैदल यात्रा गर्न रुचि राख्ने भएकाले सरकारले पर्यटन पदमार्ग निर्माणमा जोड दिएको उनको भनाइ छ । अहिले पहिलो चरणमा मध्यपहाडी लोकमार्गको आगाँखेतदेखि तल्लो सिरबारेसम्म र अजिराखर्कदेखि तुलसी मैरासम्म झन्डै डेढ किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । यो पदमार्ग डाँडैडाँडा निर्माण गर्न लागिएकाले छुट्टै महत्व रहने गलकोट नगरपालिका–७ का वडाध्यक्ष टीकाबहादुर थापाले बताए । यात्रा अवधिभर पर्यटकले मनोरम डाँडाकाँडा, हिमशृंखला, वन–जंगल, बस्तीको दृश्यावलोकनबाट आनन्द लिन सक्ने उनको भनाइ छ ।

पदमार्ग निर्माणपछि मध्यपहाडी लोकमार्गबाट घुम्टेसम्म झन्डै ३ घण्टाको पैदल यात्रामा पुग्न सकिनेछ । गण्डकी प्रदेश सरकार, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाले घुम्टेमा पर्यटन विकासका निम्ति विकास–निर्माणका पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छन् । अहिले निर्माण हुने पदमार्गबाट गलकोट क्षेत्रसँगै छिमेकी जिल्ला गुल्मीको पनि मनोरम दृश्यावलोकन गर्न सकिनेछ । घुम्टेमा विभिन्न प्रजातिका लालीगुराँस, जडीबुटी, चराचुरुंगी, जनावर आदि पाइन्छन् । त्यहाँबाट नेपालका विभिन्न सहर, हिमशृंखलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । प्रकृतिको मनोरम आनन्द लिन आन्तरिक तथा बाह्य पर्यटक घुम्टे जाने गर्छन् । घुम्टेमा प्रसिद्ध सिद्धभैरवको मन्दिरसमेत छ ।

मन्दिर अहिले पुनर्निर्माण गरी थप व्यवस्थित र आकर्षक बनाइएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले जानकारी दिए । घुम्टेमा व्यवस्थित रेलिङयुक्त सेलेट ढुंगे पदमार्गसमेत निर्माण भइसकेको छ । त्यस्तै उज्यालोका निम्ति सोलार बत्ती जडान गरिएको छ । त्यहाँ पुग्ने श्रद्धालु भक्तजन र पर्यटकका लागि आवासगृह निर्माण गरिएको छ । त्यहाँ प्रत्येक वर्ष वैशाख पूर्णिमामा भव्य मेला लाग्ने गर्छ । घुम्टे पुग्न पाण्डवखानीको सिद्धथान, हरिचौरको टेउवा, ताराखोला गाउँपालिकाको हिलबाट पनि पर्यटन पदमार्ग निर्माण अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्