गण्डकी प्रदेश सांसद कृष्ण थापाले सिग्दी सामुदायिक होमस्टेको अनुमगन गरेका छन् । थापासहितको टोली मंगलबार बरेङ गाउँपालिका–२ हुग्दिशिरस्थित होमस्टे पुगेको हो ।
ग्रामीण क्षेत्रको विकास, प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पक्षको संरक्षण र प्रवर्धन गर्दै सामाजिक तथा आर्थिक स्तरोन्नति गर्न होमस्टेले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । ‘सहरी कोलाहल र धुलोधुवाँबाट धेरै टाढा रहने, पारिवारिक वातावरणमा अर्गानिक परिकार खान पाइने हुनाले ग्रामीण क्षेत्रका होमस्टे आनन्ददायी हुन्छन्,’ उनले भने ।
बागलुङको दक्षिणी र गुल्मीको उत्तरी भेगको संगमस्थल बरेङ बजारबाट नजिकै रहेको सिग्दी गाउँ पर्यटन प्रवर्धन र प्राकृतिक सौन्दर्यका दृष्टिले मनमोहक मानिन्छ ।
गाउँपालिका र गण्डकी प्रदेशको आर्थिक सहयोगमा सञ्चालित होमस्टे आर्थिक विकास र पर्यटक भित्र्याउन महत्त्वपूर्ण रहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
कौडे पदमार्ग हुँदै कौडेको धुरी, राजाको दरबार, धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत दर्जनौँ हिमशृंखला, सूर्योदय, सूर्यास्त अवलोकन तथा तामाखानी, रमणीय प्राकृृतिक वातावरणसँगै लालीगुराँस र सेतोगुराँस, स्थानीय लोकसंस्कृति, सालैजो, सोरठी, मारुनी नृत्य प्रदर्शनी र अर्गानिक परिकारसँगै न्यानो आतिथ्य सिग्दी होमस्टेका विशेषता रहेको होमस्टे सञ्चालन समिति अध्यक्ष हिरा पुनले बताए ।
















































































































































































