४ जेष्ठ २०८१, शुक्रबार

 

रानुले उदित नारायण झासँग गीत रेकर्ड गराउँदै

केही समय अघि भारत पश्चिम बंगालको रानाघाट स्टेसनमा गीत गाएर गुजारा चलाउने रानु मोन्डल अहिले चर्चामा छिन्। उनले आफ्नो सुमधुर स्वरबाट धेरैलाइ प्रभावित गर्न सफल भएकी हुन्। रानुले गायक हिमेश रेशमियासँगको सहकार्यमा बलिउड फिल्ममा स्वर दिइसकेकी छन्।

यसैक्रममा हिमेशसँग कै सहकार्यमा रानुले गायक उदित नारायण झासँग नयाँ गीत रेकर्ड गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिमेश रेशमियाले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत उदित नारायण झा, रानु मोन्डल, पायल देवसँग ‘कह रही हैं नजदीकियां’ बोलको गीत रेकर्ड गराउँदै गरेको भिडियो सार्वजनिक गरेका छन् ।

यस अघि रानुले रेलवे स्टेशनमा ‘एक प्यारका नग्मा है’ गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै उनको चर्चा एकाएक चुलिएको थियो।  उक्त भिडिओ र स्वर दुवै हिट भएपछि रानुको खोजी हुन थाल्यो । यसैबीच उनी सोनी टेलिभिजनको कार्यक्रम ‘सुपरस्टार सिंगर’मा देखिइन् । शोमा उनको भेट भयो भारतीय गायक तथा संगीतकार हिमेश रेशमियासँग। हिमेशले रानुको स्वर सुनेपछि आफू निकै प्रभावित भएको र उनलाई ‘काम दिने’ बताएका थिए।

हिमेशसँगको सहकार्यमा नै रानुले अहिलेसम्म पाँच–छ वटा गीत रेकर्ड गराइसकेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्