२५ भाद्र २०८३, बिहीबार

 

ढोरपाटनमा यो सिजनमा सात नाउर र पाँच झारलकाे सिकार गरिने

मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको पहिलो यामको सिकार सिजन सुरु भएको छ । असोजदेखि मंसिरसम्मको अवधिलाई पहिलो याम भनिन्छ । बर्सेनि दुई सिजन सिकार अनुमति दिइने आरक्षमा यसपालिको पहिलो याममा सात नाउर र पाँच झारलको सिकार गरिँदै छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गते १० नाउर र ६ झारलको सिकारको लक्ष्य राखेर सूचना आह्वान गरेको थियो । तर लक्ष्यअनुसार बोलपत्र आवेदन परेन ।

पहिलो सिजनमा नै कम माग आएपछि यस वर्ष कम सिकार हुने विभागले जनाएको छ । सिकार कम्पनीबीच विद्युतीय बोलपत्रमा प्रतिस्पर्धा नभएपछि राजस्व दर पनि घटेको वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

सिकार कम्पनीले एउटा नाउरको न्यूनतम १ लाख ६५ हजार रुपैयाँदेखि अधिकतम १ लाख ८० हजार र झारलको न्यूनतम ७७ हजारदेखि १ लाख ५ हजार रुपैयाँसम्म तिरेको उपसचिव श्रेष्ठले बताए ।

अघिल्लो वर्षको यही याममा नाउर सिकारको राजस्व १२ लाख ५ हजार र झारलको ९ लाख २० हजार रुपैयाँ थियो । त्यस्तै दोस्रो याम (फागुन–वैशाख) मा नाउर सिकारको राजस्व १३ लाख ५१ हजार रुपैयाँ र झारलको १३ लाख ५० हजार रुपैयाँ राजस्व थियो ।

पाँच कम्पनीको आवेदन
सिकारका लागि हिमालयन सफारिजल प्रालिले एक नाउर र एक झारल, ट्र्याक एन्ड ट्रेल्सले दुई नाउर र दुई झारल, नेपाल ट्राभल्स एक्टिभिसन प्रालिले एक नाउर र एक झारल, ग्लोबल सफारीले दुई नाउर र ओपन नेपाल वाइड लाइफ सफारी एन्ड ट्रेड प्रालिले एक झारलका लागि आवेदन हालेका थिए । यस याममा यिनै पाँच कम्पनीले ढोरपाटनमा सिकार खेलाउने विभागले जनाएको छ ।

पहिलो यामका लागि बोलपत्र प्रक्रियाबाट असोज ८ गते नै कम्पनी सूचीकृत भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले बताइन् । सिकार कम्पनीले पेसेबर विदेशी सिकारीलाई आरक्षमा पठाउने तयारी गरेको र असोजमै आउने भने पनि कम्पनीको तयारी नपुग्दा केही ढिलाइ भएको आरक्षले जनाएको छ ।

विभागले कम्पनीलाई सबै प्रक्रिया पहिले नै पुर्‍याइदिएको र कात्तिकको पहिलो सातासम्म सिकारका लागि टोली ढोरपाटन आउने सापकोटाले बताइन् । ‘असोजदेखि मङ्सिरको अन्तिमसम्मै सिकार खुला रहन्छ,’ उनले भनिन्, ‘बोलपत्रबाट छानिएका कम्पनीले अनुमति पाएअनुसार नाउर र झारलको सिकार गराउने गरेका छन् ।’

आरक्षभित्र ६ वटा ‘ब्लग’
व्यवस्थित सिकारका लागि आरक्षभित्र ६ ‘ब्लग’ तोकिएको छ । आरक्षमा फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लग छन् । सिकारीले रोजेको ठाउँमा कम्पनीले सिकार गराउँछन् ।

रुस, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त सिकारी ढोरपाटन आउने गरेका छन् । सोखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एउटै सिकारीले ३० लाखदेखि ४० लाख रुपैयाँसम्म सिकारमा खर्चने गरेको बताइन्छ ।

सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछ । टोली हेलिकप्टरबाट आरक्ष पुग्छ । पर्यटकले झारल र नाउर पानी पिउने बेला, साँझ–बिहान, खाने वस्तु प्रयोग गरेर वा शारीरिक सम्पर्क भएका बेलाबाहेक आरक्षका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्न पाउनेछन् ।

ट्रफी जित्न सिकार खेल्ने

सिकारलाई साहसिक काम मानेर सिकारीहरू ट्रफी जित्नका लागि सिकार खेल्न आउने गरेको पाइन्छ । ढोरपाटनमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा सिकार खुला गर्ने गरिएको छ ।

साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशी नागरिकको रोजाइमा पर्छ । विसं २०३९ मा स्थापना भएको सिकार आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो ।

 

अघिल्लो वर्ष ढोरपाटन सिकार आरक्षमा सिकार खेल्दै सिकारी । तस्विर सौजन्य ः आरके अदीप्त गिरी

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung