बरेङ गाउँपालिकाले आफूअन्तर्गतका विभिन्न ६ स्थानलाई सांस्कृतिक र पर्यटकीय क्षेत्र घोषणा गर्दै पूर्वाधार निर्माणका काम अघि बढाउने भएको छ ।
गाउँ कार्यपालिकाको ३०औँ बैठकले आइतबार पारित गरेको निर्णयमा सत्यवती मन्दिर र कालिलेक सिद्धथान मन्दिरलाई सांस्कृतिक तथा कौडे डाँडा, भैंसीखोला झरना तथा भित्रीवन देउराली र भातेपोखरालाई पर्यटकीय क्षेत्र घोषणा गर्ने उल्लेख छ ।
त्रिवर्षीय योजना बनाउने र महिला, जनजाति, दलित, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई लक्ष्यित गरेर विभिन्न खालका कार्यक्रम गर्ने बैठकको निर्णय छ ।
त्यसै गरी गाउँपालिकामा आवश्यक प्राविधिक जनशक्ति पदपूर्ति गर्न गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ पारित गर्ने, प्राविधिक शाखाबाट प्राप्त प्रतिवेदनका आधारमा प्रारम्भिक वातावरणीय प्रतिवेदनमा उल्लिखित बगर क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६ बमोजिम आन्तरिक आय ठेक्कासम्बन्धी सूचना आह्वान गर्ने र सोही अनुसार कामलाई चुस्त–दुरुस्त बनाउने जनाइएको छ ।
गाउँपालिकाअन्तर्गतका स्वास्थ्यसंस्थामा समायोजनपछि रिक्त भएका पदमध्ये एघार कर्मचारी करारमा नियुक्ति गर्नेलगायत निर्णय पनि बैठकले गरेको छ ।
















































































































































































