विद्यार्थीले कक्षामा पढाइ नभए समय कसरी बिताउँछन् होला ? धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो गरेर समय कटाउँछन् होला । तर, बागलुङ नगरपालिकास्थित सिगाना माध्यमिक विद्यालय तित्याङले एक वर्षदेखि विद्यार्थीको फुर्सदको समयलाई व्यावहारिक अभ्यासमा खर्चिने गरेकाे छ ।
शिक्षक नआएर पढाइ नहुँदा, टिफिन टाइममा बचेको समय सदुपयोग गर्दै विद्यार्थीले विद्यालयकाे खाली जग्गामा केरा र सुन्तला खेती गर्न थालेका छन् ।
विद्यार्थी मिलेर फलफूल खेतीमा जुटेपछि शिक्षक र अभिभावक दंग परेका छन् । फलफूल खेतीको नेतृत्व विद्यालयमा गठित सूर्योदय बाल क्लबले लिएको छ । विद्यालयको ५ रोपनी जग्गामा ४ सय बोट केरा र ४० बोट सुन्तला लगाएको क्लब अध्यक्ष अनुस्का केसीले बताइन् ।
‘हामीले धान, मकैलगायत खाद्य बालीको अभ्यास र सिकाइ घरमा पनि गरेका थियौं,’ उनले भनिन्, ‘नगदे बालीका रूपमा रहेको सुन्तला र केरा खेती कसरी गर्ने भन्ने सिकाइ र यसको व्यवसायिकताबारे राम्रो ज्ञान प्राप्त भएको छ ।’
२०६७ सालमा विद्यालयले आर्थिक स्रोत जुटाउन लगाएकाे धनधान्याचल महायज्ञमा शिक्षाप्रेमीले आसपासको २३ रोपनी जग्गा निःशुल्क दान गरेका थिए । अहिले उक्त जग्गाको सदुपयोगसहित व्यावहारिक शिक्षाको अभ्यास थालिएको प्राचार्य गोपालकुमार शर्माले जानकारी दिए ।
विगतमा त्यत्तिकै खेर गएको जग्गा अहिले केरा र सुन्तला खेतीका कारण हरियाली बनेको छ । एक वर्षअघिदेखि विद्यालय परिसरमा रहेको तीन रोपनी जग्गामा केराखेती र सिगानाको ७ मुरेस्थित दुई रोपनी बारीमा सुन्तलाखेती गरिएको प्राचार्य शर्माले बताए ।
‘परीक्षणका लागि पाँच रोपनी जग्गामा केरा र सुन्तला खेती गर्न थालेका छौं,’ उनले भने, ‘विगतका वर्ष तरकारी खेती पनि गरेका थियौं, लामो समय बिदा हुँदा तरकारी उत्पादनमा समस्या भएपछि फलफूल खेती थालेका हौं ।’
‘विद्यार्थीले स्कुलमा आएर किताबको ज्ञान मात्र नभई फलफूल फलाउनसमेत सिक्दै छन्,’ व्यावहारिक शिक्षणको नेतृत्व गराइरहेका लक्ष्मण खड्काले भने, ‘प्रयोगात्मक शिक्षाले विद्यार्थीलाई घरमा पनि फलफूल खेती गर्न सहयोग मिल्नेछ ।’ अबदेखि विद्यार्थीलाई प्रयोगात्मक विषयको नम्बर फलफूल खेतीमा गरेको कामका आधारमा दिइने शिक्षक खड्काले बताए ।
कक्षा ४ देखि १० कक्षामा अध्ययनरत सबै विद्यार्थीले अहिले पालैपालो केरा र सुन्तला खेतीको स्याहारसुसारमा समय दिने गरेका छन् । विद्यालयले खेलकुद मैदानबाहेकको अन्य जग्गामा समेत सुन्तला खेती विस्तार गर्ने लक्ष्य लिएको छ । विद्यालयले ९ र १० कक्षामा कृषि प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य लिइएको जनाएको छ । विद्यालयमा हाल बाल विकासदेखि कक्षा १२ सम्म ३ सय ८५ विद्याथी अध्ययनरत छन् । सिगाना मावि जिल्लाकै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका रूपमा चिनिँदै आएको छ ।


















































































































































































































