जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले सहकारीहरूलाई उत्पादनसँग जोडिएर रोजगारी वृद्धिमा लाग्न अनुरोध गरेका छन् । नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बडीगाड–२ खर्वाङ, बागलुङको २३औं वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले सहकारीलाई स्थानीय सरकारसँग समन्वय र साझेदारीमा काम गर्न सुझाए । कतिपय सहकारी बैंक र कम्पनीका रूपमा काम गरिरहेको भन्दै उनले सहकारीले मूल्य–मान्यता बिर्सन नहुने बताए ।
नवप्रतिभा जिल्लाकै अब्बल सहकारी भएको भन्दै उनले दगातुन्डाँडाका सहकारी एकीकरण अभियानमा लागेकोमा खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले सहकारी एकीकरण गर्ने अभियान चलाइने बताए । अध्यक्ष होमनाथ अर्यालले भावी कार्यक्रमसहितको प्रगति प्रतिवेदन, कोषाध्यक्ष खगीश्वर अर्यालले १४ करोड ५८ लाख ४१ हजार ३ सय ४९ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका १४ सय सेयर सदस्य छन् भने पुँजी २ करोड १६ लाख २५ हजार १ सय छ । १० करोड ६२ लाख लगानी गरेको सहकारीमा १० करोड ३० लाख बचत छ।
सहकारीले साधारणसभाका अवसरमा कक्षा १२ मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक हासिल गर्ने सेयर सदस्यका छोराछोरीमध्ये खड्कदेवी माविका वेदप्रसाद पोखरेल र त्रिभुवन नमुना माविका विष्णु खत्रीसहित दुवै विद्यालयलाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट उद्यमी लालमणि वन, विमला पल्ली, ज्येष्ठ सदस्य तेजबहादुर सलामी, गोमा राना, सहकारीका पूर्वअध्यक्ष विष्णुप्रसाद खरेल, नवनिर्वाचित वडाध्यक्ष ढालप्रसाद शेरचनलाई सम्मान गरिएको थियो ।
संस्थालाई अब्बल बनाउन प्रयत्नरत रहेको भन्दै प्रबन्धक दुर्गा अर्याल, कम्प्युटर अपरेटर फारम थापा, कर्मचारी मनकुमारी घिमिरे, भगवती अर्याललाई पनि सम्मान गरियो । सभाले विषय र प्रकृति मिल्ने सहकारीहरूसँग एकीकरण गर्न अध्यक्ष होमनाथ अर्यालको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ ।



















































































































































































































