२१ बैशाख २०८१, शुक्रबार

 

बागलुङमा पोखराका पर्यटक ल्याउन पहल

भ्रमण वर्ष २०२० का पर्यटकलाई आकर्षित गर्न पर्यटन व्यवसायीले संस्थागत रूपमै पर्यटनमैत्री वातावरण बनाउने अभियान थालेका छन् । पर्यटनमैत्री होटल र व्यवसायलाई प्राथमिकतामा राखी पोखरा र बागलुङका व्यवसायीबीच सहकार्य अघि बढाइएको हो ।

बागलुङ पर्यटन विकास समिति, बागलुङ उद्योग वाणिज्य संघको पर्यटन समिति, होटल तथा रेस्टुराँ व्यवसायी संघ बागलुङको पहलमा थालिएको अभियानअन्तर्गत व्यवसायी बुधबार पोखराको तीनदिने भ्रमणमा निस्किएका थिए । त्यस क्रममा पृथ्वी होटल व्यवसायी संघ, सिटी रेवान, टान, भिटोफ, नाट्टा, भ्रमण वर्ष २०२० का प्रतिनिधि, बागलुङ समाज पोखरा र होटल एसोसियसनबीच छलफल तथा अनुभव आदानप्रदान गरिएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए ।

छलफलमा पोखराका व्यवसायीले बागलुङसँग जोडेर पर्यटनमा सहकार्य, लगानी तथा अनुभव आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । आगामी दिन बागलुङका पर्यटकीय गन्तव्यको जानकारी गराउने, पोखरा आउने पर्यटकलाई बागलुङसम्म लैजाने र स्थानीय गन्तव्यको प्रचारप्रसार गराउने विषयमा छलफल भएको खड्काले जानकारी दिए ।

बागलुङका व्यवसायीले गण्डकीका पर्यटनमन्त्री विकास लम्साललाई भेटी बागलुङको पर्यटन प्रवर्धनमा प्रदेश सरकारको भूमिका बढाउन माग गरेका थिए । मन्त्री लम्सालले प्रदेश सरकारले ४४ वटा पर्यटकीय गन्तव्य विकास गर्ने तयारी थालेको भन्दै यसका लागि पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यविधि तयारी गरिरहेको जानकारी दिए । बागलुङका पञ्चकोट÷शालिग्राम संग्रहालय, ढोरपाटन, बागलुङ कालिका मन्दिर, जैमिनी धाम, रुद्र ताल, भैरवस्थान मन्दिर, भकुण्डे, घुम्टेको धुरी, बिहुँकोट शिवालय शिवधुरी, सत्यवती मन्दिर तथा गाईघाट झरनाको पूर्वाधार विकासमा मन्त्रालयले लगानी गर्ने उनको भनाइ छ ।

प्रत्येक गन्तव्यमा ४० लाखका दरले प्रदेश सरकारले अनुदान दिने तयारी रहेको मन्त्री लम्सालले बताए । ११ जिल्लाका ४४ गन्तव्य विकासका लागि प्रदेश सरकारले १७ करोड ६० लाख खर्च गर्नेछ । पर्यटन व्यवसायीसँग अन्तरक्रियामा सहभागी संघीय सांसद देवेन्द्र पौडेलले बागलुङमा धेरै पर्यटकीय गन्तव्य भए पनि लगानीकर्ताको अभावमा विकास हुन नसकेको बताए । पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई बागलुङ पुर्‍याउने र बागलुङमा हुने पर्यटकीय गतिविधि पोखरासम्म ल्याउने विषयमा सहकार्यको तयारी थालिएको होटल व्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष तथा पोखराका पर्यटन व्यवसायी केपी शर्माको भनाइ छ ।

ठूला पर्यटन व्यवसायीको अनुभवबाट साना व्यवसायीलाई अगाडि बढ्न सहयोग पुग्ने आयोजकको लक्ष्य छ । सहकार्यपछि बागलुङमा पर्यटन गतिविधि बढ्ने बागलुङका पर्यटन व्यवसायीको अपेक्षा छ । होटलको व्यवस्थापन, सरसफाइ, खानपान तथा सत्कार पर्यटकलाई खुसी पार्ने पक्ष भएकाले पोखरामा चलेका त्यस्ता होटलसमेत अवलोकन गरिएको होटल व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताए ।

पोखराका व्यवसायी, फस्टाएका होटल तथा पर्यटकीय स्थलको अवलोकनबाट सिकेर बागलुङका होटललाई पर्यटकमैत्री बनाउँदा पर्यटकको बसाइ लम्ब्याउन सकिने पर्यटनविज्ञ वासु त्रिपाठीले औंल्याए । पोखराका पर्यटकलाई बागलुङका पर्यटकीय स्थलबारे जानकारी गराएर पर्यटक पठाउने, प्रचारप्रसार गर्ने विषयमा सहकार्य गर्ने नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष ओम पाण्डेले बताए । सहकार्यका लागि बागलुङका होटल व्यवसायी, पर्यटन विकास समिति र उद्योग वाणिज्य संघअन्तर्गतको पर्यटन समिति, पत्रकारलगायत सरोकारवाला पोखरा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्