३ श्रावण २०८३, आईतवार

 

गाँवैभरि इन्डक्सन चुलो

साँझ छिप्पिएसँगै लालीमायाको हस्याङफस्याङ झन् बढ्यो । आमा घरमा खोक्दै छिन् । लालीमाया आफैं पनि बिरामीजस्ती देखिन्छिन् । गाउँ सुनसान छ । बिहानै मान्छे मरेपछि मलामी हिँडेका बाबु अझै फर्केका छैनन् ।
‘गाउँमा यो वर्ष मात्रै ९ जना जति मरे । कोहीले आत्महत्या गरे, कोही उमेर पुगेर,’ उनले सुनाइन्, ‘साँझ परिसक्यो, हाम्रा बुबाको अझै आउने बेला भएन ।’

लालीमायाकी आमा

बिसन्चोकै कारण दिनभर गाउँमा ननिस्केकी लालीमाया घरमा पाहुना देखेर उठेकी थिइन् । आँखा राता छन्, बोली नै रुघाले ग्रस्त सुनिन्छ ।
घरमा तीन जना मात्र छन् । आमाको आँखा गुमेको दशक भयो । ‘आमा यस्तै हो, आँखा देख्नुहुन्न, घरबाहिर जाँदा छामछुम गर्दै निस्कनुहुन्छ,’ उनले भनिन् ।

दाजु–भाउजू सहर झरेपछि अहिले घरको जिम्मेवारी लालीमायाकै काँधमा छ । आमा ६५ वर्ष कटिन्, बाबु ७० । उनी तिनलाई छाडेर हिँड्न सक्दिनन् । ‘आमा आँखा देख्नुहुन्न, बारीमा अन्न लगाउनुपर्छ, त्यसैले म सहर नगएको,’ भनिन् ।

काभ्रेको तेमाल गाउँपालिका–५ पोखरे गाउँ हो यो । यहाँका मान्छे धेरैजसो सहर पसिसके । गाउँमा बूढा–बूढी मात्रै छन् । लोग्ने मान्छे त झन् कमै भेटिन्छन् ।

विभिन्न संघसंस्थामा समेत आबद्ध लालीमाया आमा–बाबुलाई खाना खुवाएर बाहिर निस्कन्छिन् । खाना पकाउन निकै सजिलो महसुस गर्छिन् अचेल उनी । पहिला यस्तो थिएन । दाउरा जुटाउन जंगल चहार्नुपथ्र्यो । धुवाँ उस्तै । बेलामा खाना तयार नहुँदा उनका थुप्रै कार्यक्रम छुट्थे । तर, अहिले अनुदानमा आएको डिजिटल इलेक्ट्रिक चुलोले उनको दैनिकी फेरिएको छ ।

इन्डक्सन चुलोमा भात पकाउँदै लालीमाया

बिहानको खाना २० मिनेटमै तयार हुन्छ । ‘१० मिनेटमा भात पाक्छ । खाना पनि मीठो, समयको पनि बचत । ग्यासभन्दा सस्तो यो सिस्टम निकै लोभलाग्दो छ,’ उनले अनुभव सुनाइन् । अहिले गाउँका अधिकांशको घरमा यही चुलो छ । लालीमाया गाउँमा विद्युतीय चुलो जडान गर्ने काम पनि गर्छिन् । सहकारीमा खटिँदै र चुलो जडान गर्दैमा उनको दिनचर्या बितिरहेको हुन्छ ।
तिमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्थाले अनुदानमा विद्युतीय चुलो उपलब्ध गराएको हो । यो चुलोमा खाना पकाउन थालेपछि स्थानीयको समय बचत भएको गाउँपालिका अध्यक्ष सलामसिंह तामाङको बुझाइ छ ।
सहकारीका अध्यक्ष सार्कीमान तामाङको पहलमा स्थानीयले धुवाँरहित अत्याधुनिक चुलो पाएका हुन् । यसमा गाउँपालिकाले पनि सघाएको छ । अहिले करिब ३ सय घरधुरीमा इन्डक्सन (विद्युतीय) चुलो जडान गरिएको छ ।

तेमाल गाउँ

यति धेरै घरधुरीमा अनुदानमा इन्डक्सन चुलो पुर्‍याइएको नेपालकै पहिलाे गाउँ हाे पाेखरे । ‘पहिले दाउरा बाल्दा आँखा नै रातो हुन्थ्यो,’ सहकारी अध्यक्ष तामाङले भने, ‘अहिले ध्वाँसो नलाग्ने, घरसमेत सफा हुने प्रविधि भित्र्याएका छौँ ।’
उनका अनुसार सहकारीले गाउँका ५ हजार ४ सय घरधुरीलाई ६ हजार ७ सय रुपैयाँमा इन्डक्सन चुलो, कुकर, कराई र पानी तताउने ताप्के उपलब्ध गराउँछ ।

सरकारले हरेक घरमा विद्युतीय चुलो जडान गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । यसबाट ग्यास आयातलाई क्रमशः प्रतिस्थापन गर्दै व्यापार घाटा न्यून गर्नेे योजना रहेको गाउँपालिका अध्यक्ष तामाङ बताउँछन् ।
यो चुलो लगानीका हिसाबले पनि आकर्षक छ । बिहान–बेलुकी खान पकाउँदा बिजुली एक–दुई युनिटभन्दा खपत हुँदैन ।

अध्ययनले के भन्छ ?
त्रिभुवन विश्वविद्यालयले गरेको एक अध्ययनले पनि ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा सस्तो हुने देखाएको छ । आधा केजी चामल ग्यासबाट पकाउँदा ऊर्जाको लागत २.४६५ रुपैयाँ र विद्युतबाट १.४१९ रुपैयाँ पर्ने अध्येता प्रा.डा. जगन्नाथ श्रेष्ठले बताए ।

अध्ययनले औसत परिवारलाई ग्यासमा भात पकाउँदा ११.१८ मिनेट र इन्डक्सन चुलोमा पकाउँदा ७.८२ मिनेट लाग्ने देखाएको छ ।

प्रतियुनिट बिजुलीको १० रुपैयाँ र प्रति १४.२ केजी ग्यासको मूल्य १४ सय रुपैयाँलाई आधार मानेर प्राध्यापक श्रेष्ठले खर्चको यस्तो विश्लेषण गरेका हुन् ।

सरकारी तथ्यांकअनुसार अहिलेसम्म नेपाली भन्सारबाट ४ लाख २५ हजार इन्डक्सन चुलो भित्रिएका छन् । चीनले मात्र १० हजार इन्डक्सन चुलो अनुदान दिए पनि हालसम्म तीन हजारभन्दा बढी बिक्री हुन सकेको छैन । ग्यास विस्थापन गरेर विद्युतीय चुलो उपयोगका लागि सरकारी र गैरसरकारी निकायबाट अभियान सञ्चालन भइरहेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको श्वेतपत्रमा प्रत्येक घरमा विद्युतीय चुलोको अवधारणा अघि सारिएको छ । मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले पनि यसलाई अभियानकै रूपमा अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung