नेशनल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड बागलुङले बडिगाड गाउँपालिका–४ जलजलाको एक परिवारलाई वैदेशिक रोजगारी मृत्युदावी बिमा भुक्तानी गरेको छ ।कम्पनीले वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका जलजलाका ३६ वर्षीय धनबहादुर राकसकोटीको परिवारलाई बिमा बापत १३ लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । शाखा प्रमुख तोयानाथ गौतमले मृतक धनबहादुरकी श्रीमती खगीसरालाई बिमा बापतको रकम हस्तान्तरण गरेका हुन् ।
वैदेशिक रोजगारीको लागि तीन वर्ष अघि मलेसिया गएका राकसकोटीको गत माघ १९ गते इट्टा उद्योगका मेसिनले च्यापिएर ज्यान गएको थियो । मृतकको एक छोरा र दुई छोरी रहेका छन् । कम्पनीले यसअघि वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाएका बानपा–८ सिगानाका नरबहादुर सार्कीको परिवारलाई पनि १४ लाख रुपैयाँ मृत्युदावी बिमा भुक्तानी गरेको थियो ।