६ जेष्ठ २०८१, आईतवार

 

कोरोनाको खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्कन सक्दैन : बिल गेट्स

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले कोरोनाको खोप विकास नभएसम्म विश्व पहिलेको अवस्थामा फर्कन नसक्ने बताएका छन ।

कोरोना खोपको विकास मात्र संसार सुरक्षित हुने एक मात्र उपाय भएकोले अनुसन्धान, परीक्षण र विकासमा विश्वका मुख्य शक्तिशाली देशहरूले योगदान दिनुपर्ने उनको भनाइ छ ।

विभिन्न समयमा रोगको महामारीले मानव सभ्यतालाई चुनौती दिएको र अहिले पनि विभिन्न दशकमा महामारी देखिएकोमा निदानका लागि आवश्यक स्वास्थ्य सामग्री निर्माणमा विश्वका प्रमुख शक्तिहरूले लगानी नगरेकोमा उनले दु:ख व्यक्त गरे ।

यसअघि खोप निर्माणको अनुसन्धानमा लगानी गरिएको भए निर्माण अवधि आधा घट्न सक्ने गेट्सको धारणा छ । गेट्स र विश्वका स्वास्थ्य विज्ञहरूले महामारीलाई संसारले कुनै दिन विषम जोखिममा पार्न सक्ने चेतावनी दिएका थिए । कोरोनाभन्दा अगाडि एड्स, इबोला, जापानी इन्सेफ्लाइटिस लगायत महामारीले मानव समाजलाई ठूलो प्रभाव पारेका थिए ।

सन् २०१५ को एउटा सम्बोधन तथा न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनमा भाइरसको महामारीको सम्भाव्यबारे औँल्याइएको तर त्यसअनुसार आवश्यक लगानी गर्न नसकिएको उनले सम्झना गरेका छन् ।

उनको बुझाइमा चीनमा कोरोना भाइरस संक्रमणको विवरण आएको केही महिनामै परीक्षणसम्बन्धी काम गम्भीर ढंगले हुन सकेन । थोरै देशले मात्र महामारीसँग जुझ्न गतिलो संयन्त्र र व्यवस्थापनको विकास गरेको देखिन्छ ।

चीन, जर्मनी, ताइवान, दक्षिण कोरिया, सिंगापुर आदि देशले कोरोना प्रकोप रोकथाम र नियन्त्रणमा ठिक ढंगले सामना गरे । अहिले विश्व नै हालसम्मकै सबभन्दा आवश्यक खोप निर्माणको दौडमा लागेको छ ।

खोपको विकास भए यसको प्रयोग र प्राप्तिमा प्रभावित सबै मुलुकको समान अधिकार हुनुपर्ने गेट्स बताउँछन् । गेट्सको परोपकारी फाउन्डेसनले पनि खोप निर्माणको अनुसन्धान र विकासमा मद्दत गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्