५ जेष्ठ २०८१, शनिबार

 

विश्वकै लामो झोलुङ्गे पुल गिनिज बुकमा दर्ता तयारी

झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङमा अब अर्को पहिचान थपिने भएको छ विश्वकै लामो झोलुङ्गे पुल ।बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुललाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ताको तयारी थालिएको हो ।

बागलुङ नगरपालिका १ रामरेखा र पर्वतको कुस्मा नगरपालिका १ पाङ, अदुवाबारी जोड्ने ५६७ मिटर लामो सिंगल स्पानको पुल हालै निर्माण सम्पन्न भएको छ ।

सिंगल स्पान प्रविधिमा बनेको झोलुङ्गे पुल यसअघि स्विट्जरल्यान्डमा ४९४ मिटर लामो छ ।बागलुङ नगरपालिकाको पहलकदमीमा निर्माण भएको पुललाई नगर कार्यपालिकाको बैठकले अन्तर्राष्ट्रिय रूपमा चिनाउन गिनिज रेकर्डमा दर्ताका लागि पठाउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले बताए ।

बागलुङमा ५ सयभन्दा बढी झोलुङ्गे पुल छन् । यसअघिका पुल ५ मिटरदेखि ५६७ मिटरसम्म लामा छन् ।विश्वकै लामो पुलको पहिचान स्थापित भए यसले बागलुङमा आन्तरिक तथा बाह्य पर्यटक उल्लेख्य संख्यामा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

२०७७ चैतमा सम्पन्न गर्ने गरी २०७५ सालमा सम्झौता गरिएको पुल एक वर्षअगावै तयार भएको हो । हस्तान्तरण हुन भने बाँकी छ ।
कोरोना महामारीले देश लकडाउन भएपछि पुल हस्तान्तरण र उद्घाटन रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्