मेरो चोक
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ?
सबथोक छ
असंख्य रोग छ
अनन्त भोक छ
असीम शोक छ
केवल हर्ष छ
यहाँ त्यसमाथि रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ?
सबथोक छ
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्
किनकि तिनलाई यहाँ
रात- रात – भरि उपियाँले टोक्छ
दिन- दिन- भरि रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकि तिनलाई यहाँ
न कसैले पुज्छ
न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक – अर्कोलाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ?
सबथोक छ ।
( विसं २०१७ साल ,साहित्य पत्रिकामा प्रकाशित ) घुम्ने मेचमाथि अन्धो मान्छे कविता संग्रहबाट







































































































































































































