नेपाल पर्यटन बोर्डले कोरोनाका कारण ठप्प बनेको पर्यटन व्यवसाय फेरि ब्युँताउन आवश्यक प्रोटोकलसहितको तालिम दिन थालेको छ। बोर्डले कोभिड–१९ पछि पर्यटन क्षेत्र खुला गर्न पहिलो चरणमा उड्डयन, होटल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङलगायत विभिन्न क्षेत्रका ६ सय पर्यटन व्यवसायीलाई तालिम दिएको प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए।
‘कोभिड–१९ सँग सधैँ डराएर बस्यो भने मुलुकको आर्थिक गतिविधिमा गम्भीर असर गर्छ। विश्व स्वास्थ्य संगठनले तयार पारेको स्वास्थ्य सुरक्षालाई अवलम्बन गर्दै अब विभिन्न उद्योग सञ्चालन गर्न आवश्यक छ,’ उनले भने ।
दैनिक तीनवटा सिफ्टमा अनलाइनमार्फत कोभिड–१९ नियन्त्रण गर्दै उद्योग सञ्चालन गर्नेसम्बन्धी तालिम दिइँदै आएको रेग्मीले बताए। उनका अनुसार तालिमले पर्यटन उद्योगमा स्वास्थ्य सुरक्षामा जोड दिई डिजिटल मार्केटिङको प्रयोगमार्फत व्यवसायलाई जीवन्त बनाउन प्रयास गर्नेछ ।
बोर्डले होटल संघ नेपाल, नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालसँगको समन्वयमा तालिम दिएको छ।
















































































































































































