
नेपालमा कोभिड—१९ संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । ४९ वर्षीया चिनियाँ महिला र धनुषाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिकाका पुरुषको साउन ६ गते निधन भएको हो ।
खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनी साउन २ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । आईसीयूमा राखिएका उनको उपचार क्रममा मृत्यु भएपछि स्वाब नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गौतमले बताए ।
मृत्यु हुने चिनियाँ महिला पोखरामा बसेर काम गर्दै आएकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल अस्पताल भर्ना गरिएकी उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।
कोरोना पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा बुधबार उनको निधन भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।