२४ भाद्र २०८३, बुधबार

 

बागलुङ–पर्वत जोड्ने पुल सर्वसाधारणलाई खुला

- स्थानीय भन्छन्– पुल हेर्न आउनेको भिड लाग्दा कोरोना संक्रमणको जोखिम बढ्यो

बागलुङ र पर्वतलाई जोड्ने गरी कालीगण्डकी नदीमा हालिएको आधा किलोमिटर लामो झोलुंगे पुल साउन १६ देखि सर्वसाधारणका लागि खुला गरिएको छ । कोरोना संक्रमणको प्रतिकूल परिस्थितिका कारण बागलुङ नगरपालिकाले विशेष कार्यक्रम नगरी सामान्य रूपमा पुलमा आउजाउ खुला गरेको हो ।

बागलुङ–१ बांगेचौर र पर्वत जोडिने ५६७ मिटर लामो यो पुलको उचाइ १३८ मिटर छ। सिंगल स्पानको झोलुंगे पुल निर्माण सम्पन्न भएको ४ महिनापछि खुला गरिएकोमा हेर्नेको भिड लागेको छ ।

कोरोना संक्रमण फैलिरहेको भन्दै गृह मन्त्रालयले जिल्लाजिल्लामा कडीकडाउ गर्न निर्देशन दिइरहेका बेला झोलुंगे पुल खुला गरेर नगरपालिकाले संक्रमण बढाउने काम गरेको भन्दै विरोधसमेत भइरहेको छ ।

गृह मन्त्रालयले अन्तर जिल्ला प्रवेशमा पास अनिवार्य गरेको सन्दर्भमा पुल खुला गर्दा कोरोनाको जोखिम बढ्ने समाजसेवी शकुन्तला शर्माले बताइन् ।

सुरुकै दिन सयौं जना आवतजावत गरेपछि पुल बेस्सरी हल्लिन पुगेको भन्दै स्थानीयमा त्रास बढेपछि प्रहरी प्रशासनले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७७ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीसँग सम्झौता भए पनि एक वर्षअघि नै काम सकिएको थियो । तर, हस्तान्तरण भइसकेको थिएन । पुल पर्यटन प्रवद्र्धनका हिसाबले महत्त्वपूर्ण भए पनि कोरोनाको जोखिममा भिडभाड नियन्त्रण गर्नुपर्ने म्याग्दीका सन्तोष रावलले बताए ।

‘पुल आवश्यक भएका त्यस क्षेत्रका नागरिकलाई स्वास्थ्य–सुरक्षा अपनाएर मात्र आवतजावत गर्न दिनुपर्छ,’ बानपा–३ का वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले भने, ‘त्यसबाहेक अरूलाई घुमफिर र मनोरञ्जनका लागि भिड हुने गरी पुलको उपयोग गर्न दिनु हुँदैन ।’बागलुङ नगरपालिकाले कोरोना संक्रमण भएको भन्दै पुल हस्तान्तरण र उद्घाटनको काम भने केही महिनाका लागि रोकेको छ ।

एकातिर सरकारले १५ जनाभन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएर विद्यालय, सिनेमा हल, पार्टी प्यालेस, मन्दिरसमेत बन्द गरेका बेला नगर कार्यपालिकाको निर्णयबिना सर्वसाधारणलाई खुला गर्नु अपरिपक्व काम भएको समाजसेवी चण्डीप्रसाद शर्माले बताए ।

पुलले पर्वत र बागलुङको पर्यटन, व्यापार, कृषिमा परिवर्तन ल्याई स्थानीयको जीवनस्तर उकास्न टेवा पुग्ने विश्वास गरिएको छ ।
सञ्चालकहरूले यो झोलुंगे पुल विश्वकै लामो भएको दाबी गर्दै आएका छन्।

तस्वीर : राम थापा अविरल

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung