
बागलुङका दुई जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा जिल्ला समन्वय समितिका संयोजक र बागलुङको वडिगाड गाउँपालिका वडा नम्वर ६ का ३८ वर्षीय वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कन्ट्रयाक ट्रेसिङमा परेका जिल्ला समन्वय समितिका संयोजक र क्वारेन्टाइन व्यवस्थापनमा खटेको भन्दै जाँच गरिएको थियो । जिल्ला समन्वय समितिका संयोजक केही दिन अघि चितवन गएर फर्किएका थिए ।
जनप्रतिनिधिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्रोत खोज्न थालिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
सदरमुकाममा रहेका जनप्रतिनिधि र वडिगाडका जनप्रतिनिधिमा संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना पुगेको आँकलन गर्न थालिएको छ ।
जनप्रतिनिधीमा कोरोना संक्रमण देखिपछि आवश्यक सर्तकताको जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक भैरहेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले वताए । त्यसै गरी वडा अध्यक्षमा कोरोना संक्रमण देखिएपछि वडिगाड गाउँकार्यपालिकाको वैठक वसेको जनाईएको छ ।