६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ बजार भदौ ७ गतेसम्म लकडाउन

बागलुङ बजारमा कोरोना संक्रमण फैलिएपछि बागलुङ नगरपालिकाका तीन वटा वडाले आ–आफ्नो वडा लकडाउन गर्ने निर्णय गरेको छ । समुदायमा सङ्क्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेको सबै व्यक्तिको स्वाब परीक्षण प्रतिवेदन नआएसम्मको लागि वडा कार्यालयबाट हुँदैआएका सेवा प्रवाहसमेत बन्द गरी भदौ ७ गतेसम्म बागलुङ बजार बन्द गर्ने निर्णय गरेका छन ।

बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जिवन आचार्य, वडा नं ३ को वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा र वडा नं ४ को वडा अध्यक्ष ध्रुव केसीले सार्वजनिक सूचना जारी गर्दै  वडा बन्द गर्ने भनेका हुन् ।

वडाभित्र छोटो समयमा संक्रमितको संख्या थपिँदै गएकाले उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको अवस्थामा स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग गर्न पनि कार्यालयले स्थानीयलाई अनुरोध गरेको छ ।

उनीहरूले अनावश्यक हिँडडुल नगरी अत्यावश्यक सेवा वाहेक अरु पसल बन्द गर्न भनेको छ ।कोरोना संक्रमण फैलिएकोले सबै व्यवसायीहरु सचेत भएर स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर व्यवसाय गर्न र कोरोन रोकथाम तथा नियन्त्रण सहयोग गर्न बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले नयाँ विश्वलाई बताए ।

बागलुङ उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस समाजमा फैलिन थालेपछि सोमबार १२ बजेपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरी लकडाउन गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

संघ अध्यक्ष युवराज राजभण्डारीले विज्ञप्ति जारी गरी कोरोना फैलिँदै गएकाले थप सजग हुनुपर्ने स्थिति आएको भन्दै राति १२ बजेदेखि आन्तरिक लकडाउन गर्न आग्रह गर्नुभएको हो । नयाँ कोरोनाका सङ्क्रमित दिनदिनै थपिँदै गएकाले एक हप्ताका लागि लकडाउन गर्न आग्रह गरिएको हो ।
संक्रमितहरुको पहिचान गर्न र व्यवसायीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर एक साताको लागि लकडाउन गर्नु परेको बागलुङ उद्योग वाणिज्य संघको महासचिव नरेश कँडेलले नयाँ विश्वलाई बताए ।

सरकारले लकडाउन खुकुलो पारेसँगै कोरोना सङ्क्रमित बढेको र सबैभन्दा ठूलो सम्पत्ति मानव स्वास्थ्य भएकाले खाद्य सामग्री, मासुजन्य, दूग्धजन्य, पानी, औषधी, सरसफाइ सामग्री, तरकारी, ग्यास, पेट्रोलियम पदार्थलगायत अत्यावश्यकबाहेक सबै पसलहरू बन्द गर्न आग्रह गरिएको छ ।

अत्यावश्यक सामग्री उत्पादन, बिक्री वितरण गर्ने उद्योग तथा पसलहरू आफू सुरक्षित रहेर बिहान साढे सात बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्रै कारोबार गर्न आग्रह गरिएको छ ।

बागलुङ बजारमा दुई व्यवसायी महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई धौलागिरि अस्पतालमा भर्ना गरिएको छ ।बागलुङ नगरपालिका–३ हाडेपाखामा कुखुरा व्यवसाय गरी बस्ने २३ वर्षीया महिला र वानपा २ अस्पताल रोड होटल गर्ने महिला मा कोरोना देखिएपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ ।

हाडेपाखाकी महिलामा रुघा–खोकी र ज्वरो आएपछि धौलागिरि अस्पताल पुगेकी उनको पीसीआर परीक्षण गर्दा कोरोना देखिएपछि धौलागिरि अस्पतालमा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

साउन ३० गते अस्पताल गएकी उनलाई आइसोलेसनमा भर्ना गरिएको छ । संक्रमित महिलाको परिवारलाई होम आइसोलेसनमा बस्न लगाइएको बागलुङ नगर स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लामा हालसम्म २ सय ६६ जनामा संक्रमण देखिएकोमा २ सय ४५ जना निको भएर घर फर्किसकेका छन् । धौलागिरि अस्पतालको आइसोलेसनमा २१ जना उपचाररत छन् ।

जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना, बडिगाड गाउँपालिका–६ का वडाध्यक्ष मौसम क्षत्री, स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेको पनि धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्