६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ बजारमा एक सातालाई निषेधाज्ञा

- भदौ ९ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय

कोरोना सक्रमण बढ्दै गएपछि बागलुङ नगर क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको मंगलबारको बैठकले आज राति १२ बजेदेखि भदौ ९ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको जिल्ला प्रशासन कार्यालयकाअ सूचना अधिकारी धीरेन्द्र पन्तले नयाँ विश्वलाई बताए । यसअघि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले बागलुङ बजारमा एक साता लकडाउन गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

समितिले समुदायका केही व्यक्तिमा कोरोना देखिएकाले अत्यावश्यक सेवाबाहेक अरू बन्द गरिने जनाउँदै अत्यावश्यक काम नपरी घरबाट ननिस्कन र स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न अनुरोध गरेको छ ।

बैठकले उत्सव, चाडपर्व, सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ ।बागलुङ नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा मंगलबार बिहान बसेको विपद्, उद्धार, राहत व्यवस्थापन समितिको बैठकले पनि बागलुङ नगरक्षेत्रभित्र कोरोना रोकथाम र नियन्त्रणका लागि भदौ १० गतेसम्म लकडाउन गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

बागलुङ–२ अस्पताल रोडकी होटल व्यवसायी महिला र वडा नं ३ हाडेपाखाकी कुखुरा व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमै फैलिएको आशंकामा २, ३ र ४ नम्बर वडाध्यक्षहरूले सोमबार अत्यावश्यक सेवाबाहेक बजार बन्द गर्ने निर्णय गरेका थिए । जिल्लामा हालसम्म २ सय ६९ जनामा संक्रमण देखिएकोमा २ सय ४५ जना निको भएर घर फर्किसकेका छन् ।

धौलागिरि अस्पतालको आइसोलेसनमा २१ जना उपचाररत छन् । जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना, बडिगाड गाउँपालिका–६ का वडाध्यक्ष मौसम क्षत्री, स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेको पनि धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

तस्वीर : राजेशचन्द्र राजभण्डारी

प्रतिक्रिया दिनुहोस्