६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ बजारका दुई संक्रमितको सम्पर्कमा रहेका ५२ जना होम क्वारेन्टिनमा, तीन घर सिल

बागलुङ बजारमा दुई महिलालाई कोरोना संक्रमण देखिएसँगै उनीहरूसँग सम्पर्कमा रहेका ५२ जनालाई होम क्वारेन्टिनमा राखिएको छ ।
बागलुङ नगरपालिका–३ मा पोल्ट्री व्यवसाय गर्ने र वडा नम्बर २ अस्पताल रोडमा होटल चलाउने महिलामा कोरोना पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङ गरिएको हो ।

जसमा सरकारी कर्मचारी, बैंकका कर्मचारी, औषधि व्यवसायी, अडिटर र छिमेकीहरूसम्म रहेको बागलुङ नगरपालिकाका सिनियर अहेव डिल्ली आचार्यले बताए ।

संक्रमितको सम्पर्कमा रहेका पोखरा र काठमाडौंका होलसेल व्यवसायीकोमा काम गर्ने बजार प्रतिनिधिहरू जिल्लाबाहिर गइसकेकाले उनीहरूलाई समेत होम क्वारेन्टिनमा बस्न लगाइएको नगरपालिकाले जनाएको छ ।

साउन ३२ गते कोरोना पोजिटिभ देखिएकी बागलुङ–३ की महिलाको सम्पर्कमा रहेका १५ जनाको स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएपछि उनीहरूलाई धौलागिरि अस्पतालको आइसोलेसनमा राखिएको छ । रिपोर्ट नेगेटिभ देखिएका ९ जनालाई पनि होम क्वारेन्टिनमा बस्न लगाइएकोे छ ।

कोरोना पुष्टि हुनुअघि महिला उपचारका लागि गएको बालमन्दिर रोडको एक मेडिकलका सञ्चालकसमेत होम क्वारेन्टिनमा छन् ।
त्यस्तै अस्पताल रोडमा होटल व्यवसाय गर्ने महिलामा साउन ३१ गते संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका ३७ जना होम क्वारेन्टिनमा छन् ।

उनीहरूसहित संक्रमितको परिवार सदस्यको आगामी मंगलबारभित्र स्वाब संकलन गर्ने तयारी गरेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।

बागलुङ–३ की महिलाको सम्पर्कमा रहेका तीन परिवारलाई घरबाहिर ननिस्कन भनिएको,उनीहरुको घर सिल गरिएको छ  र त्यसको जानकारी जिल्ला प्रशासनलाई गराइएको पनि उनले जनाए ।

बेल्जियमबाट चैत ५ गते कतार एअरवेजबाट आएका बागलुङका दुई महिलामा कोरोना संक्रमण भई निकोसमेत भइसकेको छ । तर चार महिनापछि भित्रभित्रै फैलिएको संक्रमण समुदाय स्तरमै देखिएको छ ।

गत साउन महिना धौलागिरि अस्पतालको सी ब्लकको भवन निर्माणको जिम्मा पाएको कम्पनीले स्वास्थ्य परीक्षणबिनै महोत्तरीबाट १८ जना मजदुुरहरुलाई  ल्याइएकोमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।अहिले समुदायमै संक्रमित भएका ११ जना धौलागिरि अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

धौलागिरि अस्पतालमा निर्माण गरिएको आइसोलेसन जिल्लाको एक मात्र आइसोलेसन सेन्टर हो । यसबाहेक धौलागिरि क्याम्पस, गलकोट नगरपालिका र बुर्तिबाङमा प्री–आइसोलेसन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्