५ जेष्ठ २०८१, शनिबार

 

स्वाब दिएपछि अनिवार्य क्वारेन्टाइनमा बस्न मन्त्रालयको आग्रह

सरकारले पीसीआरका लागि स्वाब दिनेहरूलाई अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वाब दिएकाहरू क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएको बताए ।

सरकारी अस्पतालका नर्सिङ, पारामेडिकहरूले पीपीई नपाएको गुनासो आएकाले मन्त्रालयका कल सेन्टर १११५ र ११३३ मा खबर गरी पीपीई लिन पनि उनले अनुरोध गरे ।

यस्तै काठमाडौँमा संक्रमणको दर बढिरहेकाले संक्रमितको नजिक आएका ( प्राइमरी कन्ट्याक्ट) लाई तुरुन्तै पीसीआरका लागि स्वाब दिन उनले आग्रह गरेका छन् ।

नेपालमा अहिलेसम्म ५ लाख ९२ हजार ४१८ जनाको पीसीआर परीक्षण गारिएको छ । तीमध्ये ३१ हजार ११७ जनामा संक्रमण देखिएको छ । १८ हजार ३ सय ५० जना निको भएका छन् ।

‘पीसीआर पोजिटिभपछि आइसोलेसनमा गएकासँग सम्पर्कमा रहेका प्राइमरी कन्ट्याक्टले संक्रमितसँग सम्पर्क भएको अन्तिम दिनदेखि गणना गर्दा पाँचदेखि सात दिनभित्रमा स्वाब दिन अनुरोध छ,’ उनले भने, ‘संक्रमितसँग भेटेको तुरुन्तै पीसीआर परीक्षण गर्दा ‘फल्स नेगेटिभ’ आउँछ । नेगेटिभ आयो भनेर ढुक्क हुने तर संक्रमणमा हुने डर हुन्छ । त्यसैले पाँचदेखि सात दिन कुर्नुपर्छ । उक्त समय छुट्टै क्वारेन्टिनमा समेत बस्नुपर्दछ ।’

काठमाडौं उपत्यकामा नमुना परीक्षणका लागि १४ वटा अस्पतालमा स्वाब संकलन केन्द्र राखिएको छ । त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, निजामती अस्पताल, स्टार अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, सशस्त्र प्रहरीको बलम्बु अस्पताल, ह्याम्स अस्पताल, नेपाल–चीन मैत्री अस्पताललगायत १४ अस्पतालमा गई स्वाब दिन संक्रमणको जोखिम रहेका व्यक्तिलाई आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्