८ कार्तिक २०८३, शनिबार

 

सिवाईसी सहकारीका सेयर सदस्यलाई डिस्काउन्ट कार्ड

बागलुङको सिवाईसी बचत तथा ऋण सहकारीले सेयर सदस्यहरूलाई डिस्काउन्ट कार्ड वितरण गर्ने भएको छ । सहकारीले सदस्यहरूलाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले कार्ड जारी गर्न लागेको हो ।

सहकारीले व्यवसायी सदस्यहरूसँग गरेको अन्तरक्रियामा अन्य सदस्यलाई छुट सुविधा प्रदान गर्ने सहमति जुटाएको छ । अन्तरक्रियाका सहभागीले सहकारीको अभियानमा आफूहरूले सहयोग गर्ने बताए । व्यवसायी सदस्यको व्यापार प्रवर्धन र अन्य सदस्यलाई सहुलियत प्रदान गर्ने उद्देश्यले डिस्काउन्ट कार्डको अवधारणा ल्याइएको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

सेयर सदस्य, तिनका परिवार र कर्मचारीलाई थप सुविधा प्रदान गर्न डिस्काउन्ट कार्ड वितरण गरिने सहकारीले जनाएको छ । उक्त कार्डमार्फत बागलुङ बजारका विभिन्न औषधि पसल, होटेल तथा रेस्टुरेन्ट, खाद्यान्न पसल, टेलरिङ सेन्टरमा छुट प्राप्त गर्न सकिनेछ ।

सहकारीका सेयर सदस्य व्यवसायीहरूसँग सम्झौता गरी अन्य सदस्यलाई ५ देखि २० प्रतिशतसम्म छुट सुविधा दिने तयारी छ । सेयर सदस्यहरूले परिचयपत्रका आधारमा सहकारीले सम्झौता गरेका पसलहरूमा छुट सुविधा लिन पाउने सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung