६ जेष्ठ २०८१, आईतवार

 

रेल्वे कम्पनीमा जागिर : १२९ कर्मचारी मागिँदा, ३२ हजारको आवेदन

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर(जनकपुर रेल संचालन गर्न माग गरेको १२९ कर्मचारीका लागि करिब ३२ हजारले आवेदन बुझाएका छन् । रेल्वे कम्पनीले स्टेशन मास्टरदेखि कार्यालय सहयोगसम्मका विभिन्न २९ पदमा १२९ कर्मचारी करारमा भर्ना गर्न भदौ २९ गते विज्ञापन आह्वान गरेको थियो ।

आवेदन बुझाउने अन्तिम मिति असोज १२ सम्ममा करिब ३२ हजार युवाले अनलाइनमार्फत फारम भरेका हुन् । ‘करिब ३२ हजारले आवेदन बुझाएका छन्। कुन पदमा कति जनाले आवेदन दिएको कुरा अहिले भन्‍न सकिँदैन’, कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराई भन्छन्,‘ छुट्याउने काम अहिले भइरहेको छ।’ कम्पनीले अन्तर्वार्ताको समय तोक्न सकेका छैन।

महाप्रबन्धक भट्टराईले चाँडै अन्तर्वार्ताको मिति सार्वजनिक गर्ने बताए । पहिलो चरणमा शैक्षिक योग्यता र अनुभवका आधारमा उपयुक्त उम्मेदवार चयन गरिने उनले बताए । लगत्तै अन्तर्वार्ता लिएर १२९ कर्मचारी नियुक्त गर्ने भट्टराईले जानकारी दिए । जनकपुरको कुर्थादेखि भारत विहारको जयनगरसम्म रेल सञ्चालन दशैं अगावै गर्ने तयारी भइरहेको छ।

भारतबाट नेपाल सरकारले खरिद गरेको दुई रेल सेट नेपाल भित्रीसकेको छ । अहिले रेल इनर्वा स्टेशनमा राखिएको छ। कर्मचारी अभाव र बोर्डर क्रस सञ्चालन गर्नुपर्ने सम्झौता भारतसँग गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्