जगदम्बा स्टिल्सले १६ मिमी एफई–५०० ग्रेडका डन्डी बजारबाट फिर्ता लगेको छ । मानवीय त्रुटिका कारण उक्त ग्रेडको एउटा डन्डीमा केही कैफियत देखिएकाले फिर्ता लगिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बजारबाट फिर्ता लिइएका र उद्योग परिसरमा रहेका ती ब्याचका डन्डी नेपाल गुणस्तर तथा नापतौल विभागको रोहबरमा नष्ट गरिँदै छ । विभाग स्रोतले कम्पनीले कैफियत देखिएका डन्डी नष्ट गरिसकेपछि बिक्रीका लागि खुला गरिने जनाएको छ । ‘कम्पनीले कैफियत देखिएका ३५ टन डन्डी नष्ट गरिसकेको छ । अझै केही डन्डी बाँकी छन्,’ विभागका एक कर्मचारीले भने, ‘कम्पनीले नष्ट गरेपछि हामी अनुगमन गर्छौं, त्यसपछि बिक्रीका लागि अनुमति दिनेछौं ।’
कोरोनाजस्तो विषम परिस्थितिमा आफ्ना उत्पादनलाई निरन्तरता दिँदा भएको मानवीय त्रुटिलाई उचालेर भ्रामक र तथ्यहीन सूचना सम्प्रेषण गरिएको भन्दै कम्पनीले आपत्ति पनि जनाएको छ । कम्पनीले विज्ञप्तिमा ग्राहकको विश्वसनीयतालाई अझ बढी प्रगाढ बनाउन गुणस्तरमा कुनै हालतमा सम्झौता नगर्ने प्रतिबद्धतासमेत जनाएको छ ।













































































































































































































