५ जेष्ठ २०८१, शनिबार

 

डा केसीको जीवनरक्षा गर्न नागरिक अगुवाहरूको माग

नागरिक अगुवाहरूले अनशनरत डा गोविन्द केसीको सत्याग्रहप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । केसीका मागलाई अविलम्ब सम्बोधन गर्न र उनको जीवनरक्षाका निम्ति आवश्यक पहल गर्न उनीहरूले सरकारलाई अपिलसमेत गरेका छन् ।

नागरिक समाजका ११ जना अगुवाले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘विगत तीन हप्ताभन्दा बढी समयदेखि देशको चिकित्सा शिक्षा र स्वास्थ्यसेवासम्बन्धी मागहरू राखेर डा गोविन्द केसी आमरण अनशनमा हुनुहुन्छ ।

यी माग समाजवाद–उन्मुख लोककल्याणकारी राज्यको नारा दिएर सत्तासीन भएको दल र सरकारका लागि मार्गदर्शक र प्रेरणादायी हुने हामीले अपेक्षा राखेका थियौँ । तर विडम्बना १ डा केसीका मागप्रति सरकार पूर्णतः उदासीन रहेको छ ।’

सरकारले यस किसिमको अकर्मण्यता प्रदर्शन गरेर लोकतन्त्रमा रहनुपर्ने संवादको संस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रतिसमेत बेइमानी गरेको उनीहरूले ठहर गरेका छन् ।

विज्ञप्तिमा डा पीताम्बर शर्मा, डा कैलाशनाथ प्याकुरेल, डा महेश मास्के, डा अरुणा उप्रेती, नारायण ढकाल, विमल निभा, डा सुरेश ढकाल, डा सरोज धिताल, सरिता तिवारी, धनकुमारी सुनार र कोमल भट्टराईको हस्ताक्षर छ ।

प्रतिक्रिया दिनुहोस्