१ जेष्ठ २०८२, बिहीबार

 

चिनियाँ ट्रान्सपोर्ट एजेन्टको मनलाग्दी : २६ किमीको भाडा ९ लाख

चिनियाँ ट्रान्सपोर्ट एजेन्टले कोभिङ–१९ को कारण देखाउँदै रसुवा नाका हुँदै कारोबार गर्ने नेपाली व्यवसायीबाट मनलाग्दी भाडा असुल्दै आएको छ ।

रसुवा नाकाबाट भित्रिने सामग्री बोकेका कन्टेनरमा चिनियाँ ट्रान्सपोर्ट एजेन्टले जथाभावी भाडा दर तोक्दा केरुङ–रसुवाअन्तर्गत २६ किलोमिटर सडकको भाडा करिब नौ लाख रुपैयाँ तिर्न नेपाली व्यवसायी बाध्य भएका छन् ।

सिन्धुपाल्चोकको तातोपानी नाका पटक–पटक बन्द भइरहने भएपछि रसुवाबाहेका अन्य विकल्प नभएका कारण चिनीयाँ ट्रान्सपोर्ट एजेन्टले मनलाग्दी चलेको हो ।

कोभिड–१९ का कारण अहिले नेपाली व्यवसायी चीनतर्फ जान पाउँदैनन् । कोभिड–१९ कै कारण चीनले आफ्नो क्षेत्रमा नेपाली व्यापारी भित्र्याएको छैन । गोदाममा रहेका सामग्री चिनियाँ ट्रान्सपोर्ट एजेन्टले नाकासम्म ल्याइदिने हुँदा एकतर्फी रुपमा भाडा दर बढेको हो । केरुङबाट नाकासम्मको भाडा अहिले चिनियाँ ट्रान्सपोर्ट एजेन्टले ५० हजार राएमबी (चिनियाँ मुद्रा) सम्म लिने गरेको व्यवसायीको गुनासो छ । यो रकम करिब नौ लाख नेपाली रुपैयाँ हुन आउँछ । रसुवा नाकाबाट अहिले अधिकांश रेडिमेड पोशाकका सामग्री भित्रिरहेका छन् ।

नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाका अनुसार सिजनका सामग्री भएकाले व्यवसायीले झण्डै नौ लाख नेपाली रुपैयाँ भाडा तिरेर भएपनि ल्याउन बाध्य छन् । दसैं, तिहार र जाडो लक्षित सामग्री अहिले तुरुन्तै नभित्र्याए व्यवसाय डुब्ने अवस्थामा पुग्ने हुँदा व्यवसायी महंगो भाडा तिर्न बाध्य बनेको उनले बताए ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठका अनुसार भाडा दर घटाउनका लागि दुई देशका उच्च अधिकारीहरु बीचको बैठकमा छलफल हुनु जरुरी छ । ‘यो अवस्था तातोपानी नाका बन्द भएकै कारण सिर्जना भएको हो, सुरक्षा सतर्कता अपनाएर तातोपानी नाका सूचारु गरेको खण्डमा समस्या समाधान हुन सक्छ’ अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार नेपाली व्यवसायीको पीडालाई सम्बोधन गर्न नेपाल सरकारकै तर्फबाट ल्हास्सास्थित महावाणिज्य दूतावासमा अनुरोध गरिनु जरुरी छ । उनले नेपाली अधिकारीहरुले व्यापार सहजीकरणका लागि भाडा दर घटाउन तत्काल कदम चाल्नुपर्ने बताए ।

बाढी पहिरोका कारण बन्द भएको तातोपानी नाकाबाट कारोबार नभएपछि सिन्धुपाल्चोकका अधिकांश व्यवसायी रसुवा नाकाबाटै सामग्री भित्र्याउने गर्दथे । गएको असार २५ गते अरनिको राजमार्गमा आएको बाढी पहिरोले सडक कटान गरेपछि तातोपानी नाका बन्द भएको थियो । गएको सोमबार नाका पुनः सुचारु गरिएपनि सामान लोड अनलोड गर्ने कर्मचारीमा कोरोना संक्रमण भएपछि एक दिनमै नाका फेरि बन्द गरिएको थियो । चीनबाट स्थलमार्ग हुँदै सामग्री ल्याउने तातोपानी र रसुवा नाका मात्र हो ।

अहिले रसुवा नाकाबाट दैनिक हाराहारी १० कन्टेनर नेपाल भित्रन्छन् । यसअघि ३० भन्दा बढी कन्टेनर सामग्री बोकेर नेपाल भित्रने गरेका थिए । रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले अहिले दैनिक एक करोड बराबरको राजस्व संकलन हुने गरेको बताए । भाडा दर बढेकै कारण अहिले नेपाल भित्रिने कन्टेनरमा कमी आएको हुन सक्ने उनको अनुमान छ । नेपाली व्यवसायीका अनुसार चीनमा करिब एक हजार दुई सय कन्टेनर सामग्री अड्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung