
बागलुङ बजारका मासु पसल विगतको तुलनामा सुधारोन्मुख हुँदै गएको पाइएको छ । बुधबार गरिएको अनुगमनका क्रममा मासु पसलमा विगतमा जस्तो कमजोरी फेला नपरेको अनुगमन टोलीले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, बागलुङको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता मञ्चका प्रतिनिधि र पत्रकारसहितको टोलीले २१ वटा मासु पसल अनुगमन गरेको थियो ।
केही मासु पसलमा एप्रोन प्रयोग नगरिएको, मासु जालीले नछोपेको, मूल्यसूची अद्यावधिक नगरिएको पाइएको छ । तीमध्ये तीनवटा पसल बिनादर्ता सञ्चालन भएकाले सात दिनभित्र दर्ता गर्न निर्देशन दिइएको टोलीका संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गुमादेवी शर्माले बताइन् ।
विगतका अनुगमनमा अस्वस्थकर मासु खुलेआम बिक्री गरेको पाइए पनि यसपटक धेरै कुरामा सुधार देखिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख केदार पौडेलले जानकारी दिए । यसअघि मंगलबार गरिएको खाद्यान्न पसल अनुगमनमा लेवल नभएका, मूल्य सूची नभएका, म्याद नाघेका, नापतौल प्रमाणीकरण नभएका खाद्य सामग्री भेटिएको थियो ।