२ कार्तिक २०८३, आईतवार

 

झन् खतरनाक छ रोग लुकाइनु वा बिरामीलाई गरिने छुवाछुत

किन स्वाब दिनै मान्दैनन् संक्रमितसँग हेलमेल गरेकाहरू ?

कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरू पीसीआर जाँच नगराई खुलेआम घुम्दा संक्रमणको जोखिम झन् बढेको छ । बागलुङ बजारमा कन्ट्याक्ट ट्रेसिङमा परेका थुप्रै व्यक्तिले परीक्षणका लागि स्वाब दिनै आनाकानी गरिरहेको पाइएको छ ।

‘म एक संक्रमितको सम्पर्कमा थिए । धेरै दिन उठबस भएकाले शंका लागेर मैले स्वाब दिएँ तर मसँगै संक्रमितको सम्पर्कमा रहेका चार जना साथीले स्वाब दिन मानेनन्,’ स्थानीय एक व्यवसायीले भने, ‘मैले केही दिनअगाडि स्वाब दिएको थिएँ । आज मेरो नेगेटिभ आयो ।’

अहिले विश्व स्वास्थ्य संगठनले संक्रमितसँगको सम्पर्कको परिभाषा पनि बदलेको छ । नजिकको सम्पर्क थोरैथोरै अवधिका थुप्रै भेट हुनु पनि ‘क्लोज कन्ट्याक्ट’ भनेको छ ।

यसै गरी अमेरिकाको रोग नियन्त्रण तथा निवारण निकायले ‘क्लोज कन्ट्याक्ट’ नजिकको सम्पर्कलाई अर्थ्याउन आफैंले दिएको बयान परिवर्तन गरेको छ।

यसमा परिर्वतन गर्दै कुनै पनि संक्रमितको नजिक १५ मिनेटसम्म थोरैथोरै अवधिका थुप्रै भेट हुनु पनि ‘क्लोज कन्ट्याक्ट’ भनेको छ। यसअघि उक्त निकायले कुनै पनि संक्रमितसँग १५ मिनेटसम्म लगातार बसिरहनुलाई ‘क्लोज कन्ट्याक्ट’ भनेको थियो।

हामी सचेत नहुँदा कोरोना सजिलै फैलि रहेको छ । संक्रमितले छोएको कुनै वस्तु,सामान,मोबाइल,पैसा वा ढोकाको चुकुलमा कोरोनाको भाइरस लामो समयसम्म रहन सक्छ जस्लाई छुदा संक्रमण फैलिने खतरा बढ्न सक्छ ।

अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा भने भाइरस निकै जन्ड देखिएको हो। मोबाइल फोनको स्क्रीनजस्तो सम्म सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित पाइयो।

तुलनात्मक रूपमा फ्लु भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ।यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स कोभ २ भाइरस ब्याङ्क नोट वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो। भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएका थिए।

ढिलो गरे संक्रमितले भोग्नु पर्छ त्रासदी

बागलुङ नगरपालिका–३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले उक्त वडामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरूले स्वाब दिन नमानेको बताइन् । ‘अस्पतालमा बस्नुपर्ला भनेर हो वा लापरबाही, स्वाब दिन मानेका छैनन् ।

के मनोवैज्ञनिक समस्या हो, थाहा भएन तर यसले व्यक्ति स्वयंलाई पनि गम्भीर खालको लक्षण देखिए समस्यामा पार्न सक्छ,’ उनले भनिन् ।केही दिनअघि कोरोनाकै लक्षण देखिँदा पनि अस्पताल जान ढिलाइ गर्दा बागलुङ बजारका एक व्यक्तिले ज्यान गुमाउनुपरेको घटना ताजै छ । ज्वरो र खोकीले ग्रस्त भएका उनी ४–५ दिन ढिलो गरी अस्पताल पुगेका थिए ।

चिकित्सकका अनुसार त्यति बेला उनको शरीरमा अक्सिजनको मात्रा असाध्यै कम भइसकेको थियो । अस्पताल लगेको दिनदेखि नै अक्सिजन दिई आईसीयूमा राखेर उपचार गरिएको थियो । तर चिकित्सक र स्वास्थ्यकर्मीले उनलाई बचाउन सकेनन् ।

जवान र स्वस्थ देखिने मानिस पनि त मृत्युकै मुखमा परिरहेका छन् ।त्यस्तै एउटा उदाहरण डा ली वेनलिङको हो। उनी चीन, वुहानका चिकित्सक थिए, तन्नेरी थिए र स्वस्थ पनि थिए।

तै पनि कोरोनाका कारण मृत्यु वरण गरे।आफ्नो अस्पतालमा आएका बिरामीमध्ये सात जनामा सार्सजस्तै देखिने केस उनले गत वर्षको डिसेम्बर ३० मा दिन फेला पारेका थिए। उनले मनैमन यो खतराको सूचक हुनसक्ने अनुमान लगाएका थिए।

उनलाई प्रहरीले ‘सामाजिक व्यवस्थामा खलल पुर्‍याएको’ र ‘अनलाइनमा नचाहिँदो हल्ला फैलाएको’ आरोप लगाएको थियो।ती अत्यन्त बिरामी अवस्थामा पुगेका मानिसको हेरचाहमा संलग्न भएलगत्तै लीमा पनि कोरोनाका लक्षण देखिन सुरू भयो ।

त्यसको एक महिना पनि नपुग्दै उनको ३४ वर्षको उमेरमा मृत्यु भयो ।कोभिड १९ का लागि भाइरस मात्र एक्लो कारक भनेर औंल्याउनु सही हुँदैन। संक्रमित मानिस पनि कारक हुन्छ सक्छ। अझ व्यक्तिपिच्छे यो फरक फरक भएको घटना सार्वजनिक भएको छ।

बेलायतमा वैज्ञानिक अनुसन्धानहरूले सुझाए अनुसार कोभिड १९ को लक्षण खोकी वा ज्वरोभन्दा गन्ध थाहा नपाउनु भरपर्दो सङ्केत हुनसक्छ।युनिभर्सिटी कलेज लण्डनले ५९० जना मानिसमा गरेको अध्ययन अनुसार यो वर्षको सुरुमा स्वाद र गन्ध गुमाएका ८० प्रतिशतमा कोरोनाभाइरसको एन्टिबडिहरू भेटिएको थियो।एन्टिबडिहरू भएका ती व्यक्तिमध्ये ४० प्रतिशतमा कुनै लक्षण थिएन।यद्यपि, सामान्य लक्षण भएका मानिसमा मात्रै त्यस्तो अनुसन्धान गरिएको थियो।

संक्रमित र उनको परिवारले भोग्दै छ सामाजिक विभेद र मानसिक तनाव

संक्रमितसँग हेलमेल गरेका वा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कतिपय व्यक्तिले स्वाब दिन नमान्नुका धेरै कारण छन् । अरू संक्रमितले जस्तै भोगेका समस्या र मानसिक तनाब भोग्नु नपरोस्, संक्रमित भएको अनावश्यक हल्ला र प्रचारले आफ्नो परिवारले अनावश्यक तनाब झेल्नु नपरोस् र आफ्नो पेसा–व्यवसायमा असर नपरोस् भन्ने पनि हो ।

एचआईभी लागेका बिरामीजस्तै कोरोना लागेकालाई समुदायले गर्ने गलत व्यवहार र सञ्चारमाध्यममा आएका सामग्रीले पनि मानिसहरू त्रस्त छन् ।

संक्रमित हुनु भनेको रोग लाग्नु मात्र होइन, समुदाय र समाजबाट व्यक्ति र परिवारले सामना गर्नुपर्ने अनेक मानसिक प्रहार पनि भोग्नु हो । यसमा संक्रमितबारे लिइने अनावश्यक चासो र गरिने नकारात्मक टिप्पणी पनि जिम्मेवार छ ।

कोरोना संक्रमण नियन्त्रणमा ठूलो समस्या भनेको रोग लुकाइनु वा बिरामीलाई गरिने छुवाछुत पनि हो । यो दुवै प्रवृत्ति रोग निवारण र समाजका लागि हानिकारक छ ।विरामीले चिकित्सकसँग कोरोनाको लक्षणको बारेमा सहि कुरा समयमै नबताएर अन्य रोगको बारेमा भन्दा र कोरोनाको विषयमा स्पष्ट कुरा नगर्दा उपचारमा समस्या देखिने गरेको छ ।

यो सामाजिक र मनोवैज्ञानिक समस्या समाधानका लागि जनचेतना अभियान चलाएर यसलाई बौद्धिक र शारीरिक दुवै हिसाबबाट पराजित गर्ने वातावरण बनाउनु अहिलेको मुख्य आवश्यकता हो ।

कतिपयमा ‘मलाई सामान्य रुघाखोकी लागेको हो, यसलाई बेसारपानी खाएर, बाफ लिएरै निको बनाउन सकिन्छ, किन स्वाब दिने’ भन्ने प्रवृत्ति पनि छ ।

संक्रमितसम्म पुग्ने र उनीहरूलाई परीक्षण र उपचारको दायरामा ल्याउन हाम्रा संस्था र सरोकारवाला निकायको मेहनत र कोसिसले मात्र पुग्दैन । यसका लागि नागरिक र समाजलाई नै जिम्मेवार र उत्तरदायी बनाउने संयन्त्रको विकास गर्नुपर्छ ।

किन आवश्यक छ स्वास्थ्य परामर्श ?

स्वाब नदिने, मास्क नलगाउने र घरमै आफूखुसी औषधि ल्याएर खाने प्रवृत्ति बढ्न थालेको बागलुङ नगरका स्वास्थ्य प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।रुघा, खोकी, ज्वरो, जिउ दुख्ने लक्षण देखिएका कतिपय व्यक्तिले घरमा अलग्ग बस्ने तर स्वाब दिन हच्कने गरेको पाइएको छ ।

‘मलाई केही भएको छैन भनी मानिसहरू गाउँघर डुल्ने गरेका छन्, त्यसले आफैंलाई र समुदायलाई पनि संक्रमणको खतरा हुन सक्छ,’ स्वास्थ्य कार्यालयका महामारी रोग स्रोतव्यक्ति देवप्रकाश घिमिरेले भने, ‘यसतर्फ स्थानीय सरकार, स्वास्थ्य संस्था, प्रशासन र सरोकारवाला, नागरिक सबै जिम्मेवार र जवाफदेही हुनुपर्छ ।’

यो सरुवा रोग भएको, यसको लक्षणहरु पनि फरक फरक भएको र घातक पनि भएकोले स्वास्थ्य सुरक्षा अपनाउन हेलचेक्य्राइँ गरिरहेकाहरूलाई मनोवैज्ञानिक परामर्शसहित स्वास्थ्य परीक्षण गराएर समाजलाई संक्रमणको खतराबाट जोगाउनुपर्नेमा उनले जोड दिए ।

डार्टमथस्थित युनिभर्सिटी अफ म्यासाचुसेट्सका एसोसिएट प्राध्यापक इरिन ब्रोमेज ब्रोमेज  भन्छन् हरेक व्यक्तिलाई संक्रमित हुन आवश्यक भाइरस मात्रा बेग्लाबेग्लै हुन्छ उदाहरणका निम्ति रोग प्रतिरोधी क्षमता कम भएका वा थकित ज्यान बोकेर बाँचिरहेकालाई थोरै भाइरसले पनि असर पारिदिन्छ। तन्दुरुस्त मान्छेका हकमा परिस्थिति बेग्लै हुनसक्छ।

कोरोना भाइरस कसरी चमेरोबाट मानिसमा आइपुग्यो ?

कोभिड १९ नाम दिइएको रोग गराउने नयाँ कोरोनाभाइरस मात्र हैन इबोला, रेबीज, सार्स र मर्स गराउने अन्य विषाणु पनि जङ्गली चमेरोबाट मानिसमा सरेका हुन्।सन् २००३ मा महामारी बनेर फैलिएको सार्स पनि कोरोनाभाइरससँग सम्बन्धित छ।

सन् २०१७ मा वैज्ञानिकहरूले चीनको एउटा गुफामा चमेरोसँग सम्बन्ध भएका सार्स कोरोनाभाइरसहरूको आनुवंशिक भण्डार फेला पारेका थिए।चमेरोबाट फैलिएको सार्समा जस्तै कोभिड १९ गराउने नाम दिइएको यो नयाँ कोरोनाभाइरसले सङ्क्रमणपछि मानवको कोषलाई प्रयोग गरेर आफ्नो सङ्ख्या बढाउँछ।

जूअलजिकल सोसाईअटी अफ लन्डनसँग आबद्ध प्राध्यापक एन्ड्रू कनिङ्गम भन्छन्, वास्तवमा हामीले केही समयदेखि यस्तै केही हुन्छ भन्ने अनुमान गरेका थियौँ।मानिसले वन्यक्षेत्र अतिक्रमण गरेको हुनाले तथा वन्यजीवको बढ्दो प्रयोग र तिनसँगको बढ्दो सम्पर्कले केही वर्षयता यी रोगहरू बारम्बार आइरहेका थिए उनले भने।

के खाने के नखाने ?

कोरोना संक्रमणपछि अस्पताल बस्दा होस् वा होम आइसोलेसनमा, निको हुन बिरामीले अलगअलग तरिका र जीवनशैली अपनाएको देखिन्छ । शरीरले व्यक्त गर्ने लक्षणअनुसार बिरामीले चिकित्सकको परामर्श, निको भएकाकोे सल्लाह तथा आयुर्वेद वा परम्परागत घरेलु चिकित्साविधि अपनाइएको पाइन्छ ।

बिरामीमा ज्वरो, रुघा, टाउको र शरीर दुख्दा, गन्ध नआउँदा, खोकी लाग्दा, डरलाग्दो सपना देख्दा वा मानसिक विचलन हुनेजस्तो समस्या देखिन्छन् । यस्तो बेला उनीहरू कसरी आफूलाई सम्हाल्ने र मनोबल उच्च बनाएर कोरोनालाई जित्ने भन्नेमा हुन्छन् । त्यसैअनुसार खानपान र दैनिकी निर्धारण गरिरहेका हुन्छन् ।

संक्रमणका बेला चिसोबाट बच्ने, शरीरको तापक्रम तल झर्न नदिने, घाममा बस्ने, ध्यान, योग गर्ने, मधुर गीत–संगीत सुन्ने, रमाइला फिल्म हेर्ने, आफूलाई धेरै माया गर्ने वा मन पर्ने व्यक्ति, आफन्त, परिवारका सदस्य वा साथीहरूसँग फोन वा भिडियो कल गर्ने बानी बसाल्नुपर्छ ।

चिकित्सकको परामर्शमा औषधि खाने, गुर्जोको लहरो, तुलसी, कागती, बेसार, दालचिनी, अदुवा, ल्वाङ–सुकमेल राखे र उमालेको पानी, मनतातो पानी पिउने, बाफ लिने, तातो पानीले नियमित नुहाएर शरीर सफा राख्ने, प्रेरक जीवनीका पुस्तक वा राम्रो साहित्य पढ्दा पनि संक्रमण चाँडै हट्न सक्छ ।

बेलायतमा पनि वैज्ञानिकहरूले भिटामिन डीले कोभिड १९ सँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ कि भनेर जाँच्न परीक्षणमा सहभागी हुन चाहने स्वयंसेवीहरूको खोजी गरिरहेका छन्।

सहभागी हुन चाहने मानिसहरूको घरमा छ महिनासम्म प्रतिदिन भिटामिन डी सेवन गर्नको निम्ति औषधि पठाइनेछ। त्यस्ता व्यक्तिमा भिटामिन डीको कमी भएनभएको सुरुमा जाँचिनेछ।जाडो याममा मानिसहरूमा भिटामिन डीको झन् कमी हुन सक्ने भएकाले यसअघि नै

बेलायतका निवासीहरूलाई थप भिटामिन लिन भनिएको थियो।त्यो सुझाव भने साधारण स्वास्थ्य अवस्था राम्रो बनाइराख्नका निम्ति भनिएको हो, कुनै खास सङ्क्रमण रोक्न होइन।

कोरोनाको संक्रमणबाट बाहिर आउनको लागि हरेक व्यक्तिले जस्तो धूमपान गर्छ-गर्दैन, स्वस्थ्यकर खानपिनमा ध्यान कत्तिको दिन्छ, शारीरिक गतिविधिका हिसाबले कत्तिको सक्रिय छ। राती मजाले सुत्छ कि सुत्दैन? यस्ता कुराले धेरै महत्व राख्छ ।

मास्क लगाउनेमा कोरोना भाइरसको मात्रा कम, निको हुने दर पनि बढी

बागलुङमा अहिलेसम्म कोभिडले मृत्यु भएका व्यक्तिहरू ज्येष्ठ नागरिक र दीर्घरोगी हुन् । कोरोनाले बढीजसो मोटो व्यक्ति, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूलाई नै गलाएको पाइन्छ ।

विश्वमै यो वर्ग कोरोनाको बढी जोखिममा परेको र लामो समयसम्म कोरोनाको भाइरस उनीहरूको शरीरमा रहिरहेको तथ्यांक सार्वजनिक भएको छ । यद्यपि यो समूहमा पनि सामाजिक दूरी कायम गरी मास्क लगाएर बस्नेहरूमा कोरोना भाइरसको मात्रा कम पाइएको छ ।

अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित वैज्ञानिक र चिकित्सकहरूको अनुभवले पनि मास्क लगाएको बिरामीमा कोरोना भाइरस कम र निको हुने सम्भावना धेरै देखिएको उल्लेख छ ।

वैज्ञानिकहरूले यसलाई विषको मात्रासँग तुलना गरेका छन् । विषको मात्रा कति कम हुन्छ, त्यसकै आधारमा शरीरको प्रतिरोध गर्ने क्षमताले भाइरसलाई जित्ने गरेको उनीहरूको बुझाइ छ ।

युरोपमा रेनेसा पूर्णजागरण कालको सुरूआतमै स्वीस चिकित्सक एवं दार्शनिक पाराचेजस्ले भनेका कुरा असाध्यै प्रचलित छ– ‘विष भन्ने कुरा मात्राले निर्धारण गर्छ।’यसको अर्थ हुन्छ, कुनै पनि कुरा चाहिने भन्दा बढी खायो भने विषालु भइदिन्छ। मात्राभन्दा असाध्यै धेरै पानी नै पिउने हो भने पनि त्यसले शरीरबाट ‘इलेक्ट्रोलाइट्स’को मात्रा घटाएर ज्यानकै निम्ति खतरा निम्त्याउन सक्छ।

नेपालीमा रहेको एउटा विशेष गुण संक्रमितप्रति सद्भाव र माया

संक्रमण फैलिन नदिने र संक्रमण देखिए पनि व्यक्ति स्वयंले आफूलाई सम्हालेर उपचारको सही विधि अवलम्बन गर्दा निको हुने दर बढ्न सक्छ । नेपालीमा रहेको एउटा विशेष गुण यसमा थप सहायक सिद्ध हुन सक्छ ।

संक्रमितप्रति सद्भाव र माया देखाउने गुण । यसले पीडितमा मनोबल बढाउनुका साथै अगाडि बढ्ने साहस दिन्छ ।सामान्यतया अमेरिकीहरू एकअर्कालाई छुँदैनन् ।

तर, अमेरिकामा विन लादेनले दुई टुइन टावरमा हमला गर्दा उनीहरू एकअर्काको हात समाउँदै टावरको भर्याङबाट तल झरेको घटनाले ठूलो महत्त्व राखेको थियो । यसलाई मनोवैज्ञानिकहरूले संकटको बेलामा बच्ने वा खतराबाट बाहिर आउन मानिसले गर्ने देखाउने सबल लक्षणका रूपमा हेरेका छन् ।

आवश्यकता छ कोरोना भाइरसको अनुसन्धान र परीक्षणको लागि अलग्गै संस्था

कोरोना संक्रमण लामो समयदेखि समुदायमा व्याप्त रहेकाले यसले मानिसको आर्थिक जीवन तहसनहस पारेको छ । यसबाट बच्दै दैनिकी चलाउनुपर्ने बाध्यताबीच कोरोना नियन्त्रणको प्रयास झन् जटिल बन्दै छ । कोरोना रोकथाम र नियन्त्रणका लागि हरेक जिल्लामा एउटा ‘एडेक्वाटर’ बनाउन जरुरी छ ।

सरकारले प्रत्येक स्थानीय तहमा एक कोभिड अस्पताल बनाउन रकम विनियोजन गर्ने जुन निर्णय गरेको छ, त्यो व्यावहारिक छैन । आर्थिक क्षमता र जनशक्तिका आधारमा पनि त्यो सम्भव छैन । यसले लगानी र समय मात्र बर्बाद हुन्छ । कोरोना नियन्त्रण अभियान झन् असफल हुने दिशामा पुग्छ ।

यसको साटो हरेक प्रदेश, जिल्ला वा क्षेत्रीय तहमा सुविधासम्पन्न अस्पताल बनाउन जरुरी छ ।केन्द्रमा कोरोनाबारे अध्ययन–अनुसन्धान र उपचार गर्ने गरी ठूलो लगानीमा छुट्टै संस्था बनाउनु जरुरी छ ।

यस्तो क्षेत्रमा लगानी र कार्यक्रमको अभावले सही अनुसन्धान हुन सकेको छैन । यसलाई प्राथमिकतामा राख्दा भविष्यमा आउने सरुवा रोगका भाइरससँग कसरी सामना गर्ने भन्ने पूर्वाधार पनि तयार हुन पुग्छ ।

यसमा संक्रमित अवस्था, लक्षण, उपचार विधि र चिकित्सकको अनुभव, विश्वका अभ्यासहरू हामीलाई काम लाग्न सक्छ ।साथै हाम्रो समाजमा रहेको पूर्वीय आयुर्वेद र घरेलु तरिका जुन कोरोना संक्रमितले उपचारमा प्रयोग गरे, यसबारे पनि छलफल, बहस र अनुसन्धान गर्न जरुरी छ ।

यसका लागि हाम्रो देशमा कोरोना र अरू सरुवा रोगको अध्ययन गर्ने अलग्गै ‘हेडक्वार्टर’ हुन जरुरी छ । यसमा लामो समयदेखि यस क्षेत्रमा काम गरेका विज्ञ चिकित्सक, प्राध्यापक र वैज्ञानिकहरूको साथ जरुरी छ । विश्वका प्रतिष्ठित स्वास्थ्यसंस्थामा काम गर्ने नेपाली वैज्ञानिक पनि हामीलाई यस अभियानमा सहयोगी हुन सक्छन् ।

शव व्यवस्थापनमा पनि समस्या

कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा पनि समस्या र अलमल देखिएको छ । निर्णय गर्दा सबै सहभागी हुने तर व्यावहारिक समस्या आउँदा मोबाइल नउठाउने र भाग्ने प्रवृत्ति छ ।

शव व्यवस्थापनबारे निर्देशिकामा स्पष्ट लेखिएका कतिपय पक्ष शव व्यवस्थापनमा अन्तिममा आउने र एउटा पक्षलाई मात्र सबै काम गराउने अवस्था देखिएको छ ।

शव गाड्ने ठाउँ खोज्ने, डोजर खोज्नेदेखि गाड्नेसम्मको काममा तालमेल र समन्वय देखिएको छैन । शव गाड्ने कि जलाउने भन्ने विषयमा पनि स्पष्ट धारणा नहुँदा र यस विषयमा विज्ञहरूको सल्लाह नलिइँदा मृतकका परिवार, समुदाय र यसमा संलग्न पक्षहरूले तनाब भोग्नुपरेको छ ।
विश्वमा,हाम्रो छिमेकी देश र अरु जिल्लामा शव व्यवस्थापनको काम कसरी भइ रहेको छ भनि अध्ययन गर्नु पनि जरुरी छ ।

कोराना भाइरसले सक्दैन, मानव जातीले सक्छ सल्लाह र सहकार्य गर्न

कोरोना विश्वमा लामो समयसम्म रहला जस्तो छ । यस्को भ्याक्सिन नआएसम्म र आए पनि सर्बैलाई सर्वसुलभ नभएसम्म कोरोनो विश्वमा मानिसको सभ्यताले आफनै दैलो अगाडि सामना गरेको मानव इतिहासकै सबैभन्दा डरलाग्दो वर्तमान हो । यसलाई पराजित गर्न विश्वको मानव जाति एक हुनै पर्छ त्यसले मात्र हाम्रो विश्व व्यवस्थालाई तोड्न सक्दैन ।

इजरायलका विश्व प्रसिद्ध चिन्तक नोवा हरारीले भनेका छन विश्वमा फैलिएको कोरोनाले एकअर्कासँग सल्लाह गर्न सक्दैन तर हामीसँग यो अवसर र मौका छ कि विश्वको सरकार र मानव जातीले यस्लाई परास्त गर्न सल्लाह,परामर्श,अनुभव साटासाट,सहयोग आदान प्रदान गर्न सक्छौ जस्को कारणले मानव जातीको रक्षाको लागि ठुलो योगदान पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung