एस्ट्राजेनेका फर्मास्युटिकल्सका सीईओ पास्कल सोरियटले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप तयार भइसक्ने बताएका छन् । नियमन गर्ने निकायहरूबाट अनुमति पाएपछि खोप सर्वसाधारणले प्रयोग गर्न पाउने गरी उपलब्ध हुने उनको भनाइ छ ।
‘नियमनकारी निकायहरू निरन्तर हाम्रा तथ्यांक निगरानी गरिरहेका छन् ।
हामीले खोपका सबै काम सकिसक्दासम्म उनीहरूले पनि आफ्नो काम सके भने जनवरीदेखि हाम्रो खोप उपलब्ध हुनेछ । अझ डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लाउन सक्नेछन्,’ पास्कलको भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।
एङ्लो–स्विडिस कम्पनी एस्ट्राजेनेकाले बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी खोप बनाइरहेको छ । एस्ट्राजेनेकाको खोपमा संसारका धेरैले चासो राखेका पनि छन् ।
परीक्षणको तेस्रो चरणमा पुगिसकेको भएकाले यो खोपले कोरोना भाइरस महामारीसँग लड्न सघाउने आशा धेरैको छ । ‘खोप एकदमै प्रभावकारी भयो, धेरै वर्षसम्म मान्छेलाई कोरोनाबाट जोगाइराख्यो र कोरोना नै हराएर गयो भने यसको कुनै बजार हुने छैन,’ पास्कलले भनेका छन्, ‘तर सबभन्दा पहिले त यो खोपले साँच्चै नै काम गर्छ भन्नेमा हामी निश्चित हुनुपर्छ ।’
एस्ट्राजेनेकाको खोप गत सेप्टेम्बरमै तेस्रो चरणको परीक्षणमा प्रवेश गरेको थियो । तर परीक्षणमा सहभागीमध्ये केही व्यक्तिमा असर देखिएकाले परीक्षण रोकिएको थियो ।
एस्ट्राजेनेकाको खोपका लागि युरोपियन युनियन, अमेरिका, बेलायत, जापान र ब्राजिलले पहिल्यै सम्झौता गरिसकेका छन् । यो खोपको चीनमा पनि परीक्षण भइरहेको साउद चाइना मर्निङ पोस्टले लेखेको छ । त्यहाँ यसका दुइटा परीक्षणमा सफल नतिजा आएको छ भने तेस्रो पनि प्रभावकारी देखिएको एस्ट्राजेनेका चीनका अपरेसन हेड लियोन जाङले जनाएका छन् ।



















































































































































































