५ जेष्ठ २०८१, शनिबार

 

प्रत्यक्ष दृष्टि सहकारीको दशौं साधारणसभा

प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सहकारीका अध्यक्ष हरिकृष्ण उपाध्यायले सहकारी सेयर सदस्यहरूको आर्थिक र सामाजिक हितमा केन्द्रित भए मात्र समुदायको विकास हुने भएकाले सहकारीको मर्म र उद्देश्यअनुसार सहकारीलाई सेयर सदस्यहरूलाई आर्थिक विकास र गरिबी निवारणमा लगाउनुपर्ने बताए ।

प्रत्यक्ष दृष्टि नेपाल नामक सामाजिक संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले सहकारी आर्थिक गतिविधिका साथै समुदायको सामाजिक, सांस्कृतिक र जनचेतना अभिवृद्धि गर्न सक्रिय भएर लाग्नुपर्ने जनाए ।

कार्यक्रममा प्रत्यक्ष दृष्टि सहकारीका अध्यक्ष हरिकृष्ण उपाध्यायले प्रगति प्रतिवेदन,नीति तथा कार्याक्रम, लेखा समितिका संयोजक नारायणप्रकाश श्रेष्ठले लेखा प्रतिवेदन र सचिव किस्मत राजभण्डारीले सहकारीको विगत र वर्तमान अवस्था बारे प्रकाश पारेका थिए ।

२०६७ साल पुस २ गते स्थापित सहकारीको निक्षेप १५ करोड ७१ लाख ६० हजार ३ सय २९ रुपैयाँ, सेयर पुँजी १ करोड ५६ लाख ७३ हजार ५ सय रुपैयाँ, लगानी १५ करोड १० लाख ९३ हजार १२ रुपैयाँ र सेयर सदस्य संख्या ३ सय ८१ जना रहेको संस्थाका सचिव किस्मत राजभण्डारीले नयाँ विश्वलाई बताए ।

कोभिडका कारण सहकारी विभागको निर्देशनअनुसार सामाजिक दुरी कायम गर्दै साधारणसभा सम्पन्न भएको थियो । काठमाडौं महानगरपालिका–१६ बालाजुमा रहेका उक्त सहकारीले सेयर सदस्यहरूलाई आधुनिक प्रविधिमा आधारित सेवासुविधा दिइएको प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष हरिकृष्ण उपाध्यायले बताए । साधारणसभाको संचालन सचिव किस्मत राजभण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्