कोरोना संक्रमण भएका डा गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं बेहोर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्विट गर्दै केसीको स्वास्थ्यलाभको कामनासहित उनको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएका थिए ।
जवाफमा केसीले स्वास्थ्यलाभको कामनाका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै आफ्नो उपचार खर्च आफैं बेहोर्ने बताएका हुन् । उनले बरु नागरिकप्रतिको कर्तव्य पूरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरूले अहिलेसम्म उपचार पाउन सकेका छैनन्,’ केसीले भनेका छन्, ‘सरकारको ध्यान व्यक्तिविशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नमा हुनुपर्छ ।’साथै उनले आफ्नो १९औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्नसमेत अग्रह गरेका छन् ।
‘पटकपटक भएको सम्झौता कार्यान्वयन भएको भए दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ्यसेवा पाउने थिए,’ उनले भनेका छन् ।



















































































































































































