अमेरिकी कम्पनी मोडेर्नाले कोभिड–१९ विरुद्ध प्रभावकारी खोप तयार पारिएको जनाएको छ । उक्त खोप झन्डै ९५ प्रतिशतसम्म प्रभावकारी रहेको कम्पनीले जनाएको छ ।
फाइजर कम्पनीले विकास गरेको खोपको नतिजा सार्वजनिक भएलगत्तै आएको पछिल्लो यो परिणामले कोरोना नियन्त्रण सफल हुनेमा आशा जगाएको छ । दुवै कम्पनीले कोरोनाविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरिएको जनाएका छन् ।
मोडेर्नाले अबका केही साताभित्रै खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ । कम्पनीका अनुसार खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए जसमध्ये आधालाई दुईपटक खोप लगाइएको थियो ।
बाँकीलाई डमी खोप लगाइएको थियो । पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड संक्रमण भएपछि निस्किएको हो । ती ९५ मध्ये ५ जना मात्र वास्तविक खोप दिइएकाहरू थिए ।
बाँकी ९० जनालाई डमी खोप दिइएको थियो । यो खोपले कोरोना भाइरसबाट ९४ दशमलव ५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ । ‘यो ठूलो दिन हो,’ मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले बीबीसी न्यूजलाई भने ।
खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुखाइ र पीडा भएको चाहिँ विवरणमा उल्लेख छ । ‘कुनै खोपले काम गरिरहेको छ र एउटा राम्रो प्रतिरोधी क्षमता उत्पन्न गराइरहेको छ भने यस्ताखाले असरको हामी अपेक्षा गर्न सक्छौँ,’ इम्पेरियल कलेज लन्डनका प्राध्यापक पिटर ओपेनसाले भने ।
मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ । यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ । अनि सामान्य फ्रिजमा एक महिनासम्म राख्न सकिन्छ । फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो ।



















































































































































































