अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले सूचना जारी गरी मंसिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराए ।
कात्तिक २८ गते गाउँपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुको पहिचान र परीक्षणका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरिएको पुनले बताए ।
कात्तिक २५ गते १५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकामा एक जनामा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले जानकारी दिए ।
उनका अनुसार होम आइसोलेसनमा रहेका ती कर्मचारीको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमण फैलिन नदिन सेवा बन्द गरेर कन्ट्याक्ट ट्रेसिङ गर्न लागिएको हो ।
अन्नपूर्ण गाउँपालिकामा पहिलोपटक समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । यसअघि गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म पालिकामा रहेका बैंक, सहकारी र वित्तीय संस्थाको सेवा बन्द गराएको थियो ।
कोरोनाको जोखिमका कारण बन्द भएका बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकाको सेवा भने सञ्चालन भएको छ । हालसम्म १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको म्याग्दीमा ३० सक्रिय संक्रमित छन् । ती सबै होम आइसोलेसनमा छन् ।



















































































































































































