२ कार्तिक २०८३, आईतवार

 

आइसोलेसन लम्बिँदा दैनिक मजदुरी गरेर खानुपर्नेहरू मर्कामा, भन्छन्– ‘नेगेटिभ रिपोर्ट नआएसम्म ‘डिस्चार्ज’ नगर्ने प्रदेश सरकारको नियमले व्यवसाय चौपट भयो ।’

सामान्य रुघा देखिएपछि कात्तिक २२ गते स्वाब परीक्षण गराएका बागलुङ नगरपालिका–२ का एक व्यवसायीलाई कोरोना पुष्टि भयो । मंसिर ५ गते तेस्रोपटक परीक्षण गराउँदा पनि उनलाई कोरोना पोजिटिभ नै देखियो ।उनी २६ दिनदेखि घरमै बसि रहेका छन् ।

तर, उनलाई अहिले कुनै लक्षण छैन । यसै कारण उनी आफ्नो नियमित काममा फर्कन पाएका छैनन् । प्रदेश सरकारले तय गरेको नियमले उनलाई रोक्छ । त्यसैले चिन्तित छन् ।

स्वाब रिपोर्ट नेगेटिभ नआएसम्म संक्रमितहरू बाहिर निस्कन नपाउने गण्डकी प्रदेश सरकारको नियमका कारण अस्पताल वा होम क्वारेन्टाइनमा बसेकाहरू समस्यामा परेका छन् ।

संक्रमण भएको १५–२० दिन पूरा गरिसकेका र लक्षण नदेखिएकाहरू काममा फर्कन पाएका छैनन् । यसले उनीहरूको पेसा–व्यवसायमा गहिरो असर परेको छ ।

धौलागिरि अस्पतालको भवन निर्माणका लागि तराईबाट आएका मजदुरलाई कोरोना संक्रमण देखिएपछि उनी सबैभन्दा धेरै ४३ दिन अस्पताल बसेका थिए ।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना ३७ दिनसम्म अस्पताल बसेका थिए । बागलुङ नगर स्वास्थ्य शाखाको सिनियर अहेव डिल्लीप्रसाद आचार्यलाई कात्तिक ४ गते कोरोना पोजिटिभ देखिएको थियो । चार पटकसम्म स्वाब परीक्षण गराएका उनी पनि २६ दिन होम क्वारेन्टिनमा बसेका थिए ।

‘अरू प्रदेशमा लक्षण देखिएकाहरू २० दिनपछि र लक्षण नदेखिएकाहरू १५ दिनमा जानकारी गराएर काममा फर्कन पाउने व्यवस्था छ,’ बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भने, ‘तर हाम्रो प्रदेशमा त्यस्तो व्यवस्था नभएकाले धेरै व्यक्ति २५ देखि ३५ दिनसम्म अस्पताल वा होम क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता छ ।

यसले उनीहरूको पेसा–व्यवसाय मात्र होइन, मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर परेको छ ।’बागलुङ नगरपालिका वडा नं ३ का संक्रमित युवासँग हेलमेल गरृेका पाँच जना साथीहरु मध्ये यस्तो व्यवस्थासँग डराएर एक जनाले मात्र स्वाब दिए अरु चार जनाले स्वाब दिन मानेनन् ।

बागलुङकै अन्य ९ पालिकाले होम क्वारेन्टिनमा बसेकाहरू २१ दिनपछि काममा फर्कने व्यवस्था गरिसकेकोमा बागलुङ नगरपालिकामा रिपोर्ट नेगेटिभ नआएसम्म होम क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले नयाँ विश्वलाई बताए ।

‘यसले कोरोना नियन्त्रणमा सहयोग पुगे पनि यसले राज्यको खर्च बढाउनुका साथै यो व्यवस्थाबाट डराएर मानिसहरूले स्वाब दिन कम गर्न थालेका छन्,’ घिमिरेले भने ।

विश्व स्वास्थ्य संगठनले पनि दस दिनपछि लक्षण नदेखिए काममा फर्कन सक्ने उल्लेख गरेको उनले बताए । संघीय सरकारले पनि विश्व स्वास्थ्य संगठनको निर्देशिका पालना गर्दै लक्षण नदेखिएकाहरूलाई १४ दिन र लक्षण देखिएकाहरूलाई २१ दिनपछि आइसोलेसनबाट ‘रिलिज’ गर्ने नियम बनाएको छ ।

बेलायतमा लक्षण नदेखिएका १४ दिनमै काममा फर्कन मिल्ने व्यवस्था रहेको छ । अरु एशियन,अमेरिकन र युरोपियन मुलुकहरुमा यस्तै व्यवस्था छ ।

धेरै दिन आइसोलेसनमा बस्नुपर्दा पेसा–व्यवसाय गर्ने र रोजीरोटी गरेर खाने वर्गलाई असर पारेको छ । यसको समीक्षा गरी उपयुक्त नीति बनाउन आफूले पहल गर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशमा संक्रमितको रिर्पोट नेगेटिभ नआएसम्म नियमित काममा फर्कन नमिल्ने नियम बनाएको छ जुन व्यवहारिक छैनन् र यसले काम गरेर खाने वर्गलाई मात्र हैन सबैलाई समस्यामा पारेको छ ।

अहिले बागलुङका १० स्थानीय तहमा १०२ जना होम क्वारेन्टिनमा छन् । बागलुङ नगरपालिकामा मात्र ६७ जना होम क्वारेन्टिनमा छन् ।लामो समय आइसोलेसनमा बस्नुपर्ने भएकैले बागलुङ नगर क्षेत्रमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका थुप्रै व्यक्तिले स्वाब परीक्षण गर्न आनाकानी गरिरहेका छन् ।

स्वाब दिन नमान्ने र आफैं पसलबाट जथाभाबी औषधि किनेर खानेहरूको संख्या बढिरहेको बागलुङ–३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताइन् ।

स्वास्थ्य मन्त्रालयले १० दिनमा स्वाब दिएर लक्षण नदेखिएकाहरुलाई आइसोलेसनमा राख्न नपर्ने र लक्षण देखिएहरुलाई १४ दिनपछि आइसोलेसनमा राख्न नपर्ने भनेको छ । १० दिनपछि पिसिआर मेशिनले कोरोना भाइरस जिवित हो कि निर्जिव हो भनि देखाउन सक्दैन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung