४ जेष्ठ २०८१, शुक्रबार

 

अर्काको एजेन्डा बोक्नेले संस्थाको विकास गर्दैन : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेन्डा हुनुपर्ने बताएका छन् ।

महासंघको जारी साधारणसभाका क्रममा शुक्रबारको बन्द सत्रमा उनले भने, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्य सुनिश्चित गर्ने भिजन र एजेन्डा हुनुपर्छ ।’

उनले विपक्षी प्यानललाई लक्षित गर्दै उनीहरूसँग आफ्नै एजेन्डा र भिजन नरहेको र उनीहरू चुनावको अन्तिम दिनसम्म पनि अरूकै एजेन्डामा रहेको संकेत गरेका हुन् । ‘म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेन्डामातर्फ महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरूको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वातावरण बनाउन सक्छु, मसँग आफ्नै भिजन र एजेन्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेन्डा हुन् जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

उनले महासंघमा हुने विजय या पराजय सफलता र असफलता नरहेको पनि उल्लेख गरे । ‘महाधिवेशनपछि पनि हामी टाढा हुनेछैनौं, हाम्रो व्यापार र हाम्रो उद्यमले हामीलाई जोड्ने नै छ,’ उनले भने ।

ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्न निजी क्षेत्रको विकास गर्ने एजेन्डा र भिजन भएको वास्तविक व्यवसायी नै आउनुपर्नेमा जोड दिए ।

राजधानीमा बिहीबार सुरु भएको महासंघको ५४औं साधारणसभामा उनले आम उद्योगी–व्यवसायीको वास्तविक एजेन्डालाई प्राथमिकता नदिएर अरू कसैको आड–भरोसामा उम्मेदवारी दिएका व्यक्तिले महासंघलाई गति दिन नसक्ने जिकिर पनि गरे ।

प्रतिक्रिया दिनुहोस्