बागलुङ । धवलागिरि बहुमुखी क्याम्पस पूर्वविद्यार्थी संघ बागलुङको अध्यक्षमा जनकराज पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार धवलागिरि बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न संघको प्रथम वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता लक्ष्मी बाँस्कोटा, सचिवमा तेजप्रसाद निउरे, कोषाध्यक्षमा रचना आचार्य र सहसचिवमा अधिवक्ता गीता श्रीस चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यमा कृष्णराज शर्मा, हिराबहादुर केसी, बाबुलाल शाक्य, शान्तिदेवी शर्मा, नारायणप्रसाद पौडेल, विष्णुकुमारी लम्साल, टेकबहादुर आरसी र खड्कबहादुर थापा चयन हुनुभएको छ ।
साधारणसभामा संघको सांगठनिक तथा आर्थिक प्रतिवेदन सदस्य तेजप्रसाद निउरेले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा सुदर्शन सिलवाल, पूर्वक्याम्पस प्रमुख प्राध्यापक डा। रामप्रसाद उपाध्याय, पूर्वविद्यार्थी हरिप्रसाद श्रेष्ठ, विश्वनाथ रेग्मी र कृष्णराज शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहायक क्याम्पस प्रमुख उपप्राध्यापक डा। डिल्लीराज गौतमले निर्वाचनको कार्यतालिकाबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष जनकराज पौडेलको अध्यक्षता, सदस्य गीता श्रीसको स्वागत र सचिव चिरञ्जीवि गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
विश्वभर छरिएर रहेका क्याम्पसका पूर्वविद्यार्थीलाई संगठित गर्दै उनीहरूको क्याम्पसप्रतिको आत्मीयता पुनः जोड्ने उद्देश्यले संघ स्थापना गरिएको हो । पूर्वविद्यार्थीको सद्भाव, क्षमता र सहयोगलाई क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा केन्द्रित गर्नु संघको मुख्य उद्देश्य रहेको छ ।
२०८० सालमा स्थापना भएको धवलागिरि बहुमुखी क्याम्पस पूर्वविद्यार्थी संघले पूर्वविद्यार्थी र क्याम्पसबीचको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य लिएको छ ।
















































































































































































