२३ बैशाख २०८१, आईतवार

 

शोषणरहित समाज निर्माणमा सिवाईसीको भूमिका महत्वपूर्ण : नगर प्रमुख पौडेल

सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुसँग छलफल गर्ने उद्देश्यले आयोजित विस्तारित मञ्च सोमबार बागलुङमा सम्पन्न भएको छ ।

संस्थाको ११ औं वार्षिक साधारणसभाको कार्यक्रमहरु अन्तर्गत केन्द्रीय कार्यालय सेवा क्षेत्रभित्रका सदस्यहरुलाई लक्षित गरी विस्तारित मञ्च आयोजना गरिएको हो । जिल्लाभरी कार्यक्षेत्र रहेको संस्थाको यसअघि नै १० स्थानमा सप्ताहव्यापी रुपमा विस्तारित मञ्चका कार्यक्रमहरु सम्पन्न भइसकेकोे छ ।

बागलुङ बजारमा आयोजित विस्तारित मञ्चमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले सहकारी क्षेत्रमा सिवाईसीले छुट्टै पहिचान स्थापित गरेको बताए ।

शोषणरहित समाज निर्माणमा सिवाईसीले महत्वपूर्ण भूमिका खेलेको औल्याउँदै सिवाईसीले पुँजी परिचालनमार्फत आर्थिक गतिविधिहरुलाई सशक्त ढंगले अगाडि बढाएको बताए । समयको मागअनुसार एटिएम, मोबाइल बैंङ्किङ, क्युआरलगायतका प्रविधिमार्फत सदस्यहरुलाई सेवा दिएर अनुकरणीय कार्य गरेको उनको भनाइ छ ।

कार्यक्रममा सहकारीका पूर्व सल्लाहकार डा. तरुण पौडेल, शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यक्ष, सल्लाहकार बेदप्रसाद शर्मा, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, शेयर सदस्यको तर्फबाट सकुन्तला शर्मा, थानेश्वर सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले सिवाईसी सहकारीले बागलुङ जिल्लामा मात्रै नभई देशभरिका सहकारीहरुमाझ लोकप्रिय कार्यक्रमहरु सञ्चालन गरेको धारणा राखे ।

कार्यक्रममा शेयर सदस्य सूर्य महतले कविता वाचन गरेका थिए । सो अवसरमा संस्थाका सचिव जयराम भारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन एवम् आगामी आबको प्रस्तावित नीति तथा कार्यक्रम र संस्थाका कोषाध्यक्ष सीतादेवी सापकोटा कँडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेटबारे सदस्यहरुसँग छलफल गरी पारित गरिएको थियो ।

विस्तारित मञ्चको अवसरमा केन्द्रीय कार्यालय अन्तर्गतका ८ जना जेष्ठ सदस्यहरुलाई पाँचहजारका दरले औषधि उपचार खर्च वितरण गरिएको थियो । यसअघि ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक तथा ६८ वर्ष उमेर पुगेका एकल महिलालाई मासिक पेन्सन उपलब्ध गराउँदै आएको सहकारीले यस वर्षदेखि ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई वार्षिक पाँचहजार रुपैया दिन शुुरु गरेको हो ।

यस अवसरमा ८९ वर्षीय नन्दकुमार राजभण्डारी, ८७ वर्षीय हरिगोविन्द राजभण्डारी, ८५ वर्षीय धनकुमारी राजभण्डारी, ८३ वर्षीय कृष्णबहादुर श्रेष्ठ, ८३ वर्षीय गणेशकुमार पालिखे, ८२ वर्षीय लिलकुमार खत्री, ८२ वर्षीय खड्कसिंह छन्त्याल र ८१ वर्षीय लाबहादुर घर्तीलाई जनही पाँचहजार उपलब्ध गराइएको थियो ।
संस्थाले जिल्लाभरी रहेका जेष्ठ सदस्यहरुलाई यसअघिका विस्तारित मञ्चमा औषधि उपचारको लागि उक्त रकम वितरण गरिसकेको छ ।

त्यसैगरी मञ्चमा संस्थाका उत्कृष्ट सदस्यहरुलाई सम्मानित गरिएको थियो । उक्त अवसरमा असल बचतकर्तातर्फ सरस्वती सापकोटा आचार्य, असल बालबचतकर्तातर्फ शिवकुमार थापा मगर, असल ऋणी उद्यमी पार्वती शर्मा र असल सदस्य इन्द्रबहादुर सुनुवारलाई सम्मानित गरिएको थियो ।

सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गण्डकी थापा अधिकारी र संचालन सह–सचिव सुवास आचार्यले गरेका थिए । वार्षिक प्रगति तथा आगामी कार्ययोजना सम्बन्धमा सदस्यहरुसँग छलफल गर्न आयोजित विस्तारित मञ्च मंसिर १५ गतेबाट शुुरु भइ आज (सोमबार) सम्पन्न भएको हो ।

संस्थाको साधारण सभा मंसिर २५ गते आयोजना गरिएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए । १२ हजार ५ सय ९५ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २२ करोड ८७ लाख ७३ हजार, कुल पुँजी तथा दायित्व १ अर्ब ७६ करोड ५१ लाख पुगेको छ ।

बागलुङ जिल्लाभरी कार्यक्षेत्र रहेको संस्थाले जिल्लाका ११ स्थानबाट ६५ जना कर्मचारीमार्फत बित्तीय तथा गैरबित्तीय सेवा प्रवाह गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्