अमेरिकाको कोभिड–१९ खोपसम्बन्धी दलका प्रमुख वैज्ञानिकले आउँदो वसन्त याममा जनजीवन सामान्य हुन अमेरिकीहरूले अझै सुरक्षित उपाय अवलम्बन गर्नुपर्ने औंल्याएका छन् ।
मोन्सेफ स्लोईले देशको खाद्य तथा औषधि निकाय एफडीएले यो साता एउटा बैठक गरेर खोपका लागि बाटो खोल्ने आफूले आशा गरेको बताए ।
उनी द्रुत गतिमा कोभिड–१९ का खोप उत्पादन र आपूर्ति गर्नका लागि अमेरिकी सरकारले तयार पारेको कार्यक्रमका प्रमुख हुन् ।
पछिल्लो दिन अमेरिकामा कोरोना संक्रमणको दर उच्च विन्दुमा देखिएको छ । त्यहाँ दैनिक ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ ।
अस्पतालमा चाप बढेको भन्दै आइतबारबाट क्यालिफोर्निया राज्यका धेरैजसो भागमा नयाँ लकडाउन तय गरिएको छ । स्वीकृति पाउने सम्भावित मिति नजिकिरहँदा राज्यहरूले समेत खोप वितरणको तयारी गरिरहेका छन् ।
बिहीबार एफडीएमा यूकेले स्वीकृति दिएको फाइजर कम्पनीद्वारा निर्मित खोपको स्वीकृतिबारे छलफल गरिँदै छ । त्यसपछि १७ डिसेम्बरमा मोडर्नाले तयार पारेको अर्को खोपको स्वीकृतिबारे छलफल गरिँदै छ ।
स्लोईले आइतबार सीबीएस न्युजसँग भने, ‘एफडीएले लिइरहेको यो निकै मिहिन र महत्त्वपूर्ण प्रक्रिया हो ।
मलाई थाहा भएका विवरणअनुसार मैले एफडीएले सकारात्मक निर्णय गर्ने आशा गरेको छु ।’ उनका अनुसार पहिलो चरणको खोप पठाउने काम स्वीकृत भएको भोलिपल्टै गरिनेछ ।
एफडीएले स्वीकृति दिएसँगै त्यो खोप सुरुमा त्यहाँका दसौँ लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख ज्येष्ठ नागरिकलाई दिने अपेक्षा गरिएको छ ।
कसलाई प्राथमिकतामा राखेर खोप वितरण गर्ने भन्ने जिम्माचाहिँ राज्यहरूको हातमा छ । सलोईले भने, ‘मलाई लाग्छ, हामीले जनवरी र फेब्रुअरी महिनामा सबैभन्दा जोखिममा रहेका मानिसमा केही प्रभाव देख्न थाल्नेछौँ ।
तर जनसंख्याका आधारमा हाम्रो जीवन सामान्य हुन हामीले अप्रिल वा मे महिना कुर्नुपर्छ ।’



















































































































































































