४ श्रावण २०८३, सोमबार

 

एनआईसी एशिया बैंकले मुद्दति निक्षेपको ब्याजदर ह्वात्तै घटायो

एनआईसी एशिया बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएको छ । कुनै सयम मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने यो बैंकले ब्याजदर अहिले सबैभन्दा सस्तो ब्याजदर ब्याज दिने सार्वजानिक सूचना नै प्रकाशित गरेर जानकारी गराएको छ ।

बैंकले आइतबार एक दैनिक पत्रिकामार्फत् नयाँ ब्याजदर सार्वजनिक गरेको छ । साधारण बचत खातामा १.५ प्रतिशत र मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । बैंकले यसअघि साधारण बचतमा न्यूनतम १.५ प्रतिशत ब्याजदर, व्यक्तिगत मुद्दतिमा ९.७५ प्रतिशत ब्याजदर दिँदै आएको थियो । जस अनुसार बैंकमा निक्षेपको ब्याजदर अन्तर ८.२५ प्रतिशत थियो ।

गत साता नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमापिसक समीक्षा गर्दै साधारण बचत खाता र मुद्दति खाताको ब्याजदर अन्तर (स्प्रेडदर) तोकेको थियो । जारी नीति अनुसार ‘बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक गर्न नपाइने व्यवस्था गरिनेछ ।’

राष्ट्र बैंकको यसै नीतिमा टेकेर एनआइसी एशियाले मुद्दति निक्षेपको ब्याजदर ह्वात्तै घटाएको हो । बैंकहरुले मुद्दतिमा अत्यन्तै बढी र बचतमा अत्यन्तै न्यून ब्याज दिएपछि राष्ट्र बैंकले बचतको ब्याजदर बढाउने उदेश्यले ब्याजदरमा स्प्रेड तोकेको हो । यद्यपि राष्ट्र बैंकले कार्यविधि ल्याइसकेको छैन। अन्य बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकको कार्यविधि कुरेर बसेका छन् ।

केन्द्रीय बैंकले जुन उदेश्यले निक्षेपको ब्याजदरको अन्तर सम्बन्धी नीतिगत व्यवस्था गरेको भएपनि बैंकहरुले आफ्नो व्यवसायीक रणनीतिअनुसार ब्याजदर निर्धारण गर्न पाउने राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोख्ररेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung