२४ बैशाख २०८१, सोमबार

 

लिटरेचर फेस्टिभल पुस १४ र १५ मा, यसपालि ‘भर्चुअल’ हुने

आईएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण १४ र १५ पुसमा भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । १३ पुसमा भने फेस्टिभलको शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी गराएको छ ।

फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन् । सबै सत्र भर्चुअल रूपमा गरिने भएकाले यसपटक दर्शकको उपस्थिति रहनेछैन ।

फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण गरिनेछन् । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् ।

कोभिड कहरका कारण लामो समयसम्म आफूहरू फेस्टिभलको नवौं संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा परेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए । ‘भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजनामा हामी जुटेका हौँ,’ उनले भने ।

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड–१९ को संक्रमणकालमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए । भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने लागेर अघि बढेको उनको भनाइ छ ।

‘भौतिक रूपमा दर्शक एवं श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको थियो,’ उनले भने, ‘तर कोभिडको बढ्दो संक्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले त्यो सम्भव भएन ।’

यसैगरी सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरूको प्रयास रहेको बताए ।

‘पोखरा माछापुच्छ्रेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔँ भन्ने नै हो ।’

फेस्टिभल आयोजक संस्थाकी सदस्य अनीकर्माले आइएमई नेपाल लिटरेचर फेस्टिभलजस्ता कार्यक्रमले युवालाई साहित्यप्रति जागरूक गराएको बताइन् ।

‘यसले एकै छानामुनि आफूलाई मन पर्ने साहित्यकार एवम् कलाकार र विशिष्ट व्यक्तित्वसँग भेट गर्ने अवसर जुराउँछ,’ उनले भनिन्, ‘हाल कोभिड–१९ का कारण यो अवसर जुट्न नसके पनि हामी यो वर्ष देश तथा विदेशमा रहेका साहित्यप्रेमी तथा शुभचिन्तकसँग युट्युब लाइभबाट जोडिनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्