२२ बैशाख २०८१, शनिबार

 

काठमाडौंमा एक्कासी वायु प्रदुषण बढ्यो, विना काम घर बाहिर ननिस्कन आग्रह

काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी वायु प्रदुषण बढेको छ । एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटि इन्डेक्स (एक्यूआई) ४०२ छ । गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको थियो । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ ।

‘वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार यो प्रदूषण भन्दा पनि मौसमको कारणले भएको हो ।’ उनले भने प्रदूषण त छ । अस्तिसम्म प्रदूषणका कणहरु डिस्पर्सल भइरहेको थियो । अहिले जान नसकेर थुप्रिएको जस्तो लागेर धुम्म देखिएको होला । यो सिजन यस्तै हुने हो तर यसपालि अलि बढी देखियो । यदि अलि अलि पानी पर्ने हो भने घट्छ । किनकी अरुबेला भन्दा गाडी कम चलेको नै छ । इँट्टाभट्टा कम नै चलेका छन् । त्यसबाहेक हामीले प्रचारप्रसार गर्ने काम पनि गरिरहेका छौँ ।

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।

यसैबीच, वातावरण विभागले बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्याधिक बढेको जनाएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै बालबालिका,वृद्धवृद्धा,दीर्घ रोगी,मुटुका समस्या भएका व्यक्तिहरुलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले घर बाहिर ननिस्कन र बाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्