३ श्रावण २०८३, आईतवार

 

बागलुङमा एम्बुलेन्समै ओसारिन्छ कोरोना संक्रमितको शव

नियमावलीमा प्रस्ट व्यवस्था छ– बिरामी बोक्ने एम्बुलेन्समा शव बोक्न मिल्दैन । तर बागलुङ नगरपालिकामा नियमावलीको ठ्याक्कै उल्टो व्यवहार देखिन्छ । यहाँ बिरामी बोक्ने एम्बुलेन्स कोरोनाबाट मृत्यु भएकाहरूको शव बोक्न प्रयोग हुँदै आएको छ ।

जिल्लामा कोभिडबाट मृत्यु हुनेको संख्या ११ जना पुगिसक्दा पनि छुट्टै शववाहन व्यवस्था गरिएको छैन । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति जब्बर लामिछाने यस्तो संवेदनशील विषयमा नगरपालिका र कोभिड संकट व्यवस्थापन समितिले चासो नदिएको बताउँछन् ।

‘हिजो प्रमुख जिल्ला अधिकारीलाई भेटर कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि शववाहनको व्यवस्था गर्नुप¥यो भनेर ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘उहाँबाट केही दिनमा सकारात्मक सन्देश आउने आशामा छौं ।’ रेडक्रस बागलुङको एम्बुलेन्स जिल्ला प्रहरी कार्यालयलाई कोभिडका बिरामी बोक्न दिइएको उनको भनाइ छ ।

कोरोनाले धौलागिरि अस्पतालमा मात्र ४ जनाले ज्यान गुमाइसकेका छन् । तिनका शव पैयुँपाटा स्वास्थ्य चौकीको एम्बुलेन्सले बोकेको थियो । उक्त एम्बुलेन्स स्वास्थ्य चौकीबाट नगरपालिकाले लिएको हो ।

पैयुँपाटा स्वास्थ्य चौकीका व्यवस्थापन समिति उपाध्यक्ष चन्द्र केसीले आफूहरूले शव बोक्न नभई कोभिडका बिरामी बोक्न एम्बुलेन्स नगरपालिकालाई दिएको बताए ।

‘बिरामी बोक्ने एम्बुलेन्स संकटका बेला नगरपालिकालाई दिनुपर्छ भनेर दियौं, अहिले शव बोक्ने काममा लगाइएको छ,’ उनले भने, ‘यसमा हामी दुःखी छौं ।’

नगरपालिकाले मर्मतखर्च र चालकको व्यवस्थापनसमेत नगरिदिएको केसीको गुनासो छ । ‘हामीले मर्मत खर्च र चालकको व्यवस्थापन गरिदिन आग्रह ग¥यौं,’ उनले भने, ‘त्यो नगरपालिकाबाट सुनुवाइ भएन, अहिले हामीले नै त्यसको व्यवस्थापन गरेका छौं ।’

चैत महिनामा नगरपालिकाले लगेको पँयुपाटा स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता नहुँदा रेफर गरिएका विरामीहरु विरामी मर्कामा परेका छन् ।जिल्लाका १० वटै स्थानीय तहमा अहिलेसम्म शववाहन छैनन् ।

बागलुङ नगरपालिकाले शववाहन खरिदका लागि रकम विनियोजन गरेर अस्पताललाई जिम्मा दिइएको जनाएको छ । ‘हामीलाई थाहा छ, बिरामी बोक्नेले शव बोक्न हुँदैन, त्यसको विकल्पका रूपमा हामीसँग ट्याक्टरबाहेक अरू थिएन,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले भने, ‘मानवीय संवेदनाका हिसाबले एम्बुलेन्सलाई नै शव बोक्न भन्याैँ ।’

शव व्यवस्थापन नगरपालिका कार्यालय मात्र नभई कोभिड संकट व्यवस्थापन समितिको पनि पनि जिम्मेवारी भएको उनको भनाइ छ ।

‘तर अहिले बागलुङ नगरपालिकाको मात्रै जिम्मेवारी भएजस्तो गरिएको छ,’ रिजालले भने, ‘यस्तो विपद्का बेला पन्छिन भएन । मानवीयता, संवेदनाको पक्षमा काम गर्दा ससाना गल्ती हुन्छन् ।’

नगरपालिकाले शव वाहन खरिद गर्दा भन्सार छुट नहुने भएकाले धौलागिरि अस्पताललाई प्रक्रिया अगाडि बढाउन भनिएको पनि उनले जानकारी दिए । ‘आवश्यक बजेट विनियोजन भइसकेको छ, १५ देखि २० दिनभित्र शववाहन आउँछ,’ रिजालले भने ।

यता कोभिड संकट व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले अब कोरोनाबाट मृत्यु भएकाहरूको शव एम्बुलेन्सले नबोक्ने बताए ।

‘हिजो बसेको बैठकले स्थानीय तह र अस्पतालहरूलाई कोभिडबाट मृत्यु हुनेहरूको शव एम्बुलेन्सबाहेक अन्य विकल्प प्रयोग गरी व्यवस्थापन गराउने निर्णय भएको छ,’ उनले भने ।

न्यौपानेले जिल्ला संकट व्यवस्थापन समितिले समन्वयकारी भूमिका खेल्ने भएकाले शववाहनको व्यवस्थापन स्थानीय तहले नै गर्नुपर्ने बताए ।

‘शववाहन व्यवस्थापन र एम्बुलेन्सको विकल्पमा अन्य साधन प्रयोग गर्न स्थानीय तह र अस्पताललाई निवेदन पठाएको छु,’ उनले भने, ‘दुईदेखि तीन स्थानीय तह मिलेर शव बोक्ने वाहन खरिद गर्नुपर्छ ।’

नगरपालिकाले पैयुँपाटा स्वास्थ्य चौकी, जिल्ला रेडक्रस, रेडक्रस अमलाचौर र धौलागिरि अस्पतालको एम्बुलेन्स प्रयोग गर्दै आइरहेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

एम्बुलेन्समा कोरोनाका मृतक बोकिएको भन्दै नेपाली कांग्रेस बागलुङले मंगलबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको थियो ।जिल्लामा हालसम्म ९ सय ३६ जनामा कोरोना पोजिटिभ देखिएको छ । अहिले तीमध्ये २७ जना होम आइसोलेसन र अस्पतालमा उपचार गराइरहेका छन् ।

तस्वीर : सुवाश गौतम

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung