भूमादेवी गौतम पौडेलको काठमाडौं महानगरपालिका–२६ गोंगबु आवास क्षेत्रमा पाँचतले घर छ । व्यापार–व्यवसायका सिलसिलामा देशका विभिन्न स्थानमा जानुपर्ने र उक्त घर तत्कालका लागि आवश्यक नभएपछि पौडेलले भाडामा दिने निर्णय गरिन् ।
सामान्य चिनजानका आधारमा पौडेलले पर्साका उत्तमकुमारलाई घर भाडामा दिइन् । आवश्यक परेको खण्डमा खाली गराइदिने मौखिक सहमति थियो । तर अहिले त्यही निर्णय पौडेललाई गलपासो बनेको छ । आफ्नै घर खाली गराउन अदालत धाउनुप¥यो तैपनि घर हात लागेको छैन ।
पौडेलका अनुसार लामो समयदेखि घरको सम्पूर्ण जिम्मेवारी लिएर बसेका उत्तमले तीन वर्षसम्म बिजुलीको बिल तिरेनन् । अनि तारन्तार ताकेता गर्दासमेत भाडा दिएनन् । ‘विश्वासका आधारमा घर भाडामा दिने हो, त्यसबाट आउने रकमले विभिन्न कामको योजना गरिएको हुन्छ,’ पौडेल भन्छिन्, ‘उत्तमजीले लामो समय भाडा नदिँदा र बिजुलीको बिल पनि नतिर्दा उहाँको मनसाय गलत रहेछ भन्ने बुझियो ।’
पौडेलले घर छोडन आग्रह गर्दा उत्तम झनै उग्र रूपमा प्रस्तुत भए । उनले घरभेटी पौडेलविरुद्ध ठगीको मुद्दा दर्ता गराए । ‘त्यसमा मैले अदालतबाट सफाइ पाइसकेकी छु,’ पौडेलले भनिन्, ‘अझै पनि उहाँले घर छाड्नुभएको छैन ।’
उत्तमले घर छाड्न आनाकानी गरेपछि पौडेल परिवार कानुनी सहायताका लागि काठमाडौं जिल्ला अदालत गयो । अदालतले विभिन्न प्रमाणका आधारमा भूमादेवीका नाममा रहेको घर खाली गराउन आदेश दियो । त्यस आदेशविरुद्ध उत्तमकुमारले पुनरावेदन गरे । उच्च अदालत पाटनले जिल्ला अदालतको निर्णयलाई नै सदर ग¥यो । तैपनि उनले घर छाड्ने मेसो देखाएनन् ।
पौडेल परिवार सहयोग माग्दै वडा कार्यालय पुग्यो । वडा कार्यालयले कानुनी सल्लाहकारको रोहबरमा जिल्ला अदालत काठमाडौं तथा उच्च अदालत पाटनको फैसला हेरी घर खाली गर्न उत्तमकुमारलाई सात दिनको समय दियो । तर पनि उनले घर छाडेनन् । वडा र प्रहरीलाई उत्तम कुमारले जबर्जस्ती गरे मिडियाबाजी गरिदिन्छु भन्दै धम्क्याउने गरेको पौडेल बताउँछिन् ।
‘अदालतको फैसला मान्दिनँ भन्ने अधिकार उत्तम कुमारसँग छैन,’ उनले भनिन्, ‘प्रशासनले बल प्रयोग गरेर भए पनि फैसला कार्यान्वयन गराइदिनुपर्छ ।’ आफूहरू प्रहरीमा गए पनि वास्ता नगरेको उनको आरोप छ ।
के भन्छ वडा कार्यालय ?
वडाध्यक्ष खेम तिवारी घर भूमादेवीका नाममा रहेको र अदालतले पनि उनकै पक्षमा फैसला गरेकाले आफूहरू घर खाली हुनुपर्ने पक्षमा रहेको बताउँछन् । ‘उत्तमकुमार र भूमादेवीबीच आपसी लेनदेनका पक्षहरू रहेछन् तर त्यसले घर खाली गराउन कुनै समस्या हुँदैन,’ उनले भने ।
घर खाली नगर्न अन्तरिम आदेश माग गर्दै उत्तमकुमारले दिएको रिट उच्च अदालतबाट समेत बदर भएकाले घर कानुनी रूपमा भूमादेवीकै रहेको तिवारी बताउँछन् । आफूहरूले घर खाली गर्न उत्तम कुमारलाई आग्रह गरेको र प्रहरीलाई पनि आवश्यक समन्वयका लागि पत्र काटिसकेको उनको भनाइ छ ।
के भन्छन् उत्तमकुमार ?
उत्तमकुमार भने आफू भाडामा बसेको कुरा नै अस्वीकार गर्छन् । आफू सहमतिका आधारमा बसेको र कानुनी सहायतामा रहेकाले घर नछाडेको उनको भनाइ छ । अदालतको फैसलामा त तपाईं हारिसक्नुभयो नि हैन र ? भन्ने प्रश्नमा उनले भने, ‘यो होइन !’
उत्तमकुमारले आन्तरिक लेनदेन र सम्झौताका आधारमा पौडेललाई कमजोर देखाउन प्रयास गरे पनि घर भूमादेवीका नाममा रहेको कुरा अस्वीकार गर्न सकेनन् ।













































































































































































































