ढोरपाटन नगरपालिका –४ का अध्यक्ष तिलक पुन धरौटीमा रिहा भएका छन् । ज्यान मार्ने उद्योगको आरोप लागेका पुनलाई जिल्ला अदालत बागलुङले ८० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
२०७६ साल कात्तिकमा खुंगामा भएको घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको भन्दै स्थानीय लालबहादुर विक र श्यामबहादुर विकले पुनविरुद्ध जाहेरी दिएका थिए ।
जाहेरीमा उनीहरुले पुनसहित कोपिल बुढाथोकी, दिलीप बुढाथोकी, गनबहादुर फगामी, हर्कबहादुर बुढाथोकी र उमेश बुढाथोकीविरुद्ध पनि मुद्दा दिएका थिए । उनीहरुमध्ये २१ दिनदेखि न्यायिक हिरासतमा रहेका तिलक पुन र कोपिल बुढाथोकीलाई अदालतले जनही ८० हजारको दरले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बुधबार भएको थुनछेकको बहसमा जिल्ला न्यायाधिस बासुदेव न्यौपानेको इजलासले धरौटीमा रिहाई गर्ने आदेश दिएको हो । उक्त आदेशले रिहाई भएका पुनले आफ्नै दलको जिल्ला नेतृत्वले आँफूसँग प्रतिशोध लिनका लागि मुद्दा दिएको आरोप लगाए । उक्त घटनामा पुनलाई मरणासन्न हुनेगरी कुटपिट भएको थियो । टाउकोमा गम्भिर चोट लागेका पुनलाई पोखरा लगेर उपचारसमेत गराइएको थियो ।
राष्ट्रिय जनमोर्चाबाट वडा अध्यक्षमा निर्वाचित पुनलाई पदबाट हटाउन पार्टीबाटै असहयोग भएको समेत उनले टिप्पणी गरे । पुनलाई वडा अध्यक्षबाट हटाउनका लागि निर्वाचन आयोगमा पनि मुद्दा दिइएको थियो । उक्त मुद्दामा पुनको वडा अध्यक्षको पद तत्काल नहटाउन सर्बोच्च अदालतले आदेश दिएको थियो ।
राजमोले भने पुनले पार्टी छाडेकोले वडा अध्यक्षबाट मुक्त गर्न माग गरेर आयोगमा उजुरी गरेको थियो । पुनलाई वडा अध्यक्षबाट हटाउन गरेको आदेशविपरित सर्बोच्चले तत्काल आदेश कार्यान्वयन नगर्न भनेको थियो ।
राजमोभित्रको दुइथरी धारको कारण पुन सिकार बनेको टिप्पणीसमेत भएको छ । धरौटीमा रिहा भएपछि पुनले आफू निर्दोष भएको पहिलो प्रमाण जुटेको बताए ।
पुनको पक्षमा अधिवक्ता राम शर्मा, राजु गौतम र राधाकृष्ण ज्ञवालीले बहस गरेका थिए । पुनको बिपक्षमा सरकारी वकिलसहित अधिवक्ता काजीगाउँले श्रेष्ठ र केशव पराजुलीले बहस गरेका थिए ।













































































































































































































