५ जेष्ठ २०८१, शनिबार

 

बागलुङको पर्यटन विकासका लागि सरोकारवालासँग छलफल

बागलुङको पर्यटन विकासका लागि सराेकारवालासँग अन्तरक्रिया गरिएको छ । बागलुङ पर्यटन विकास समितिको आयोजनामा पर्यटन बोर्ड पोखरा र पर्यटन उथान समितिबीच अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा बोल्ने वक्ताले बागलुङलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि सरोकारवाला पक्षले विशेष ध्यानदिनुपर्ने बताएका छन् ।

अन्तरक्रियामा बाेल्ने वक्ताले पर्यटन विकासका लागि पर्यटन सूचना केन्द्रको स्थापना, संघीय तथा प्रदेश सरकारले सूचिकृत गरेका पर्यटकीय गन्तव्यहरूको चिनारी सहितको होडिङ बोर्ड, सोलार लाइटको ब्यवस्था, बागलुङमा पर्यटन कार्यालय स्थापना र होटलको स्तरवृद्धिका लागि अनुदान दिनुपर्ने लगायतका माग राखेका थिए ।

अन्तरक्रियामा बागलुङ पर्यटन विकासका अध्यक्ष राजु खड्का, राजबहादुर थापा, अर्जुन चोखाल, किरण आचार्य र नरेश कँडेललगायतले आफ्नो विचार व्यक्त गरे ।

उनीहरूले बागलुङका पर्यटकीय गन्तव्यहरूको प्रवर्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले पोखरा लेक साईड तथा बागलुङका २ स्थानमा होडिङ बोर्डको ब्यवस्था गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा पर्यटन बोर्ड पोखराका प्रमुख कासिराम भण्डारीले सूचना केन्द्र, होडिङ बोर्ड तथा बागलुङका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सहयोग गर्ने बताए । उनले बागलुङलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न आवश्यक सहयोग क्रमशः सम्बोधन गर्दै जाने बताएका हुन् ।

बागलुङ पर्यटन विकास समितिद्वारा होटल समिटमा आयोजित कार्यक्रममा पर्यटन उत्थान समितिका अध्यक्ष अग्नि कँडेल तथा उपाध्यक्ष संजयकान्त सिग्देललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्