विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन्। उनको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको सेयरमा गिरावट आएपछि उनले उक्त उपाधि गुमाएका हुन् ।
उनी जनवरीमा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए। जनवरीको सुरुवातको तुलनामा टेस्लाको सेयरमा २० प्रतिशतले गिरावट आएको छ।
यो साता पनि तीव्र गिरावट भएपछि त्यसको सम्बन्ध उक्त कम्पनीले बिटक्वाइनमा गरेको जोखिमपूर्ण लगानीसँग रहेको ठानिएको छ। मस्कको सम्पत्तिमा आएको गिरावटपछि अमाजनका मालिक जेफ बेजोस पुनः विश्वका सर्वाधिक धनी बनेका छन्।
टेस्लाको सेयर बढेका बेला मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढी भएको थियो। हालैका दिनमा बिटक्वाइनको मूल्य लगातार घटिरहेको छ।
मस्क र टेस्लाले बिटक्वाइनमा लगानी बढाएको खबरले कतिपय लगानीकर्तालाई त्यसमा गरेको लगानी निकाल्न प्रेरित गरेको विश्लेषकहरूको भनाइ छ।
टेस्लाले १ अर्ब ५० करोड डलर बराबरको बिटक्वाइन किनेको र त्यसलाई भुक्तानीका रूपमा स्विकार्ने योजना बनाएको बताएको थियो। त्यसपछि बिटक्वाइनको मूल्यमा यो साता ५० प्रतिशतले कमी आएको छ।
मस्कले बिटक्वाइनको मूल्य बढाउन जसरी भूमिका खेलका थिए उसै गरी त्यसको मूल्यमा आएको गिरावटमा पनि आफूलाई दोषी ठान्न सक्छन्।
त्यस्तै अमेरिकी अर्थमन्त्री जानेट यालेनको एउटा चेतावनीयुक्त अभिव्यक्तिले पनि बिटक्वाइनको मूल्य घटबढ गर्न भूमिका खेलेको बताइन्छ।
















































































































































































