३ श्रावण २०८३, आईतवार

 

राहत रकम र नागरिकता लिएर पीडितको बस्तीमा पुगे बागलुङका सिडिओ कार्की

गत चैत १० गते चट्याङ लागेर मृत्यु भएका बागलुङ बडिगाड गाउँपालिका– ८ रणसिंहकिटेनीका ११ वर्षीय खिमे सुनारको परिवारलाई सरकारले राहत रकम प्रदान गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले प्रदेश सरकार र संघीय सरकारबाट उपलब्ध भएको २ लाख ५० हजार रुपैयाँ रकम पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कार्कीसहितको टोली शनिबार बडिगाड गाउँपालिका कार्यालयमा पुगेर मृतकका बुबा अमरबहादुर सुनारलाई सो रकम हस्तान्तरण गरेका छन् । राहत रकम हस्तान्तरण गर्दै भावुक बनेका प्रमुख जिल्ला अधिकारी कार्कीले देशमा प्राकृतिक विपत्तिका घटना बढिरहेको बताउँदै त्यसबाट सुरक्षित रहन सरकारबाट जारी भएका निर्देशनहरु पालना गर्नुपर्ने बताए ।

राहत रकम हस्तान्तरणमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगर, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत सुर्यलाल विश्वकर्मा, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजालगायतको उपस्थिति रहेको थियो ।

अशक्त पुजा विकलाई घरमै पुगेर नागरिकता
गलकोट नगरपालिका–९ बस्ने २१ वर्षीया पुजा विकले घरमै नागरिकता पाएकी छन् । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख शिवकुमार कार्कीको टोली घरमै पुगेर २१ वर्षीया विकलाई नागरिकता दिएको हो ।

चन्द्रबहादुर कामीकी २१ वर्षीया छोरी पुजा शारीरिक रुपमा अशक्त छिन् ।

तस्बिर : अर्जुन ढकाल

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung